झापा,भदौ ५ । वैदेशिक रोजगारीका लागि विदेश जाने महिलाको संख्या बर्सेनि बढेको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो पाँच वर्षको तथ्याङ्क अनुसार रोजगारीका लागि विदेश जाने महिलाको संख्या आर्थिक वर्ष २०७९÷८० अघिल्लो वर्षको तुलनामा गत आवमा पनि वृद्धि भएको छ ।

यो संख्या श्रम स्वीकृति लिएका महिलाको मात्रै हो । श्रम स्वीकृति नलिईकन भारतलाई ट्रान्जिट बनाएर खाडी र मलेसियामा घरेलु काम जानेको संख्या योभन्दा धेरै भएको अनुमान गरिन्छ । यति नै महिला त्यहाँ कार्यरत छन् भन्ने तथ्याङ्क भेटिँदैन ।

सरकारले औपचारिक रूपमा खाडी र मलेसियामा विगत नौ वर्षदेखि घरेलु श्रमिकमा जाने महिलालाई प्रतिबन्ध लगाएको छ । २०७४ सालमा संसद्को परराष्ट्र तथा श्रम सम्बन्ध समितिको अध्ययनले घरेलु श्रमिकका रूपमा जाने महिला असुरक्षित रहेको जनाउँदै रोक्न सरकारलाई निर्देशन दिएपछि रोकिएको थियो ।

विभागका अनुसार आव २०७९÷८० मा सात लाख ७१ हजार ३२७ जनाले श्रम स्वीकृति लिएकोमा ७२ हजार १३४ जना अर्थात् नौ प्रतिशत महिलाले श्रम स्वीकृति लिएका थिए । आव २०८०÷८१ मा सात लाख ४१ हजार २९७ जनाले श्रम स्वीकृति लिएकोमा ८० हजार १७२ जना अर्थात् ११ प्रतिशत महिला रहेका छन् ।

विभागले सार्वजनिक गरेको प्रतिवेदनमा खाडी र मलेसियामा घरेलु कामबाहेकका उत्पादन उद्योग, डिपार्टमेन्ट स्टोरमा प्याकेजिङ, होटलमा जाने महिलाको संख्या बढेको देखिन्छ भने पछिल्लो समयमा इजरायल, दक्षिण कोरिया, जोर्डन, बेलायत, माल्टालगायतका देशमा नर्स, केयरगिभर, कृषि उत्पादन, घरेलु श्रमिक र गार्मेन्टमा काम गर्न जाने गरेका छन् । विगत पाँच वर्षको तुलनामा गत आव २०८०÷८१ मा सबैभन्दा बढी महिलाले विदेश जान श्रम स्वीकृति लिएका छन् ।

पाँच वर्षअघिको तुलनामा वैदेशिक रोजगारीमा जाने महिलाको संख्या सात प्रतिशतले वृद्धि भएर गत वर्षसम्म आइपुग्दा करिब ११ प्रतिशत पुगेको छ । पाँच वर्षअघि विदेश जाने नेपालीमध्ये पाँच प्रतिशत मात्र महिलाले श्रम स्वीकृति लिएका थिए । बिदेसिने महिलाको संख्या प्रत्येक वर्ष बढेको देखिन्छ ।

कोभिड सङ्क्रमणअघि २०७४÷७५ मा ३२ हजार ९६४ महिलाले विदेश जान श्रम स्वीकृति लिएकोमा गत आवमा ८१ हजार नाघेको छ । महिलासहित समग्र रूपमा श्रम स्वीकृति बढेको देखिएको छ । विभागका निर्देशक गुरुदत्त सुवेदीले रोजगारीका अवसर बढेसँगै संयुक्त अरब इमिरेटस् (युएई), कतार, कुवेत, साइप्रस, मलेसिया तथा सरकारी तवरबाट कोरिया तथा इजरायल जान श्रम स्वीकृति लिनेको संख्या बढेको बताए ।

वैदेशिक रोजगारीका लागि सयभन्दा बढी देश खुला गरिएको भए पनि नेपाली महिलाका लागि मलेसिया, कतार, साउदी अरेबिया, युएई र कुवेत नै संस्थागत वैदेशिक रोजगारीका मुख्य गन्तव्य रहेको देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्