झापा, भदौ ५ । एकपछि अर्को गर्दै विभिन्न राजनीतिक संगठनहरुले चन्दाको लागि बारम्बार दबाब दिएपछि बिर्तामोडका शैक्षिक संस्थाका संचालकहरु आतंकित भएका छन् ।

आर्थिक सहयोग भन्दै नेकपा माओवादी विप्लवलगायतका राजनीतिक संगठनहरुले बिर्तामोडका प्रायः सबै शैक्षिक संस्थाहरुलाई पत्र पठाएर बारम्बार दबाब दिँदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी , नेपाल कम्युनिष्ट पार्टी बहुमत , वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाललगायतका संगठनहरुले चन्दाका लागि पत्र पठाएका हुन् ।

गोमेन्द्र , निदि , आदर्शलगायत बिर्तामोडका प्रायः सबै निजी तथा सामुदायिक शैक्षिक संस्थाहरुमा ती संगठनहरुले चन्दाका लागि पत्र पठाएको संचालकहरुले बताएका छन् । ‘एउटा संगठनको मात्र नभएर धेरै संगठनहरुको लगातार चन्दाको पत्र आएपछि डरमर्दो भयो’ एकजना कलेज संचालकले भने ।

यसरी विभिन्न संगठनहरुले चन्दाका लागि दिइरहेको दबाबप्रति मानव अधिकार संजाल झापाले आपत्ति जनाउँदै चन्दा संकलनमा संलग्नलाई कार्वाही गर्न नियामक निकायहरुको ध्यानाकर्षण गराएको छ । संजालका अध्यक्ष डा. रुपकप्रसाद खनाल र सचिव दिपक दासले एक प्रेस विज्ञप्ति जारी गरी यस्ता गैरकानुनी गतिविधिलाई नियन्त्रण गर्न नियामक निकायहरुको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

देशका शिक्षण संस्था र व्यापार व्यवसायहरु बन्द हुने अवस्थामा पुगेको यस विषम परिस्थितिमा व्यवसायिक तथा शैक्षिक संस्थाहरुमा केही राजनैतिक दलका नाममा आर्थिक सहयोगका पत्रहरु एकपछि अर्को गरी बारम्बार आइरहनाले चन्दा आतंक नै सिर्जना भएको विज्ञप्तिमा जनाइएको छ । यस विषम परिस्थितिमा राजनैतिक दलले सहयोगीको भूमिका निर्वाह गर्नुपर्नेमा उल्टै चन्दा माग गर्ने गरेकाले व्यवसायीहरुलाई अत्यन्तै कठिन हुने गरेकोले यस्तो किसिमको समस्या सिर्जना नगर्न त्यस्ता राजनीतिक संगठनहरुको पनि ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्