भद्रपुर, भदौ ५ । नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले राजनीतिप्रति नकारात्मक सोच त्याग्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

नेपाल महिला संघ झापाको आयोजना तथा ३ नम्बर क्षेत्रीय समितिको संयोजनमा भद्रपुरमा आयोजित ३ नम्बर क्षेत्रस्तरीय प्रशिक्षणलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै राष्ट्रिय सभाका सदस्यसमेत रहेका सिटौलाले सबै नीतिहरुको सर्वोत्तम नीति राजनीति भएको चर्चा गर्दै यसप्रतिको नकारात्मक धारणा त्याग्न आग्रह गरेका हुन् ।

नेपाली कांग्रेस पार्टी लोकतन्त्रको संवाहक भएकाले हरेक परिवर्तनहरुको अग्रमोर्चामा रहेर नेतृत्व गरेको उल्लेख गर्दै पूर्व महामन्त्री सिटौलाले आगामी दिनमा पनि परिवर्तनको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुशिला ढकाल आचार्य, झापाका कार्यबाहक सभापति केशवराज पाण्डे, नेपाल महिला संघ केन्द्रीय सदस्य उमा शिवाकोटीलगायतले शुभकामना मन्तब्य राखेका थिए ।
नेपाल महिला संघ झापा अध्यक्ष टिका सिटौला मैनालीले प्रशिक्षणको औचित्यमाथि प्रकाश पारेको कार्यक्रम ३ नम्बर क्षेत्रीय सभापति उर्मिला गौतमको सभापतित्वमा सम्पन्न भएको थियो ।

शिला तामाङले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रमिला कोइरालाले गरेकी थिइन् ।कार्यक्रममा महिलाहरुको नेतृत्व विकासका विषयमा रमेशकुमार दाहाल, संविधान एवं कानूनमा महिला अधिकारसम्बन्धी ब्यवस्थाका विषयमा शान्ता पाठक र प्रजातान्त्रिक आन्दोलनको इतिहास र महिला संघका विषयमा कृष्ण हुमागाईले प्रशिक्षण दिएका थिए ।

नेपाल महिला संघ झापाको आयोजना तथा क्षेत्रीय समितिहरुको संयोजनमा झापाका पाँचवटै क्षेत्रमा महिलाहरुको सशक्तिकरण र नेतृत्व विकासका लागि अभिमुखीकरण प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको नेपाल महिला संघ जिल्ला सचिव उर्मिला ढकाल पोखरेलले जानकारी दिइन् । उनका अनुसार झापा क्षेत्र नं–१, २ र ३ मा प्रशिक्षण सम्पन्न भएको छ भने ४ मा बिहीबार र ५ मा शुक्रबार प्रशिक्षण सञ्चालन हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्