झापा, भदौ ६ । बिर्तामाड युनाइटेड फुटबल क्लब झापाले त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौलाई ३–० गोल अन्तरले स्तब्ध पार्दै अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

जितका लागि झापाका अभिशेख गुरुङले खेलको ४६ औ मिनेटमा गोल गदै टिमलाई अग्रता दिलाएका थिए । दबाबमा राखेको झापाका तर्फबाट खेलको ६४ औ मिनेटमा देवेन्द्र तामाङले अर्को गोल थपे । तेस्रो गोल झापाका हिप्सु थपलियाले ६५ औ मिनेटमा गरेका थिए । खेलमा देवेन्द्र तामाङ म्यान अफ द म्याच घोषित भए । उनले नगद पाँच हजार प्राप्त गरेका छन् ।

खेल अवधिभर दबाबमा परेको आर्मीले धेरै अवसरलाई खेर फाल्दा हार ब्यहोरेको हो । नेपालको राष्ट्रिय टिमका पूर्वकप्तान भरत खवास ,खेलाडी नवयुग श्रेष्ठलगायतका चर्चित खेलाडीहरु भएपनि आर्मी झापासँग स्तब्ध बन्यो ।

भदौ ८ गते हुने दोस्रो सेमिफाइनल खेलमा बिर्तामाड युनाइटेड फुटबल क्लबले सिरहाको सहलेश युवा क्लबसँगको भेट पक्का गरेको छ ।

पहिलो सेमिफाइनल खेल भदौ ७ गते शुक्रवार सगरमाथा युथ क्लब मोरङ र संघर्ष स्पोर्टिङ युवा क्लब ताप्लेजुङबिच भानुजन माध्यमिक विद्यालयको खेलमैदानमा हुने आयोजक समितिका अध्यक्ष देवराज गुरुङले बताए ।

लाखेजात्रा पर्वको अवसरमा लाखेजात्रा सञ्चालन समितिद्वारा आयोजित प्रतियोगिताको विजेताले नगद ५ लाख, उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । खेलका विभिन्न विधामा उत्कृष्ट बन्ने खेलाडीलाई समेत पुरस्कारको ब्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्