द्रोण अधिकारी,
भद्रपुर । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारी माता मन्दिर छेउमा तीन दशकयता माटाको मूर्ति बनाएर कलाकार विष्णु राजवंशीले जीवन चलाइरहेका छन् ।

दुई सन्तानलाई शिक्षादिक्षा र ४ जनाको परिवार धान्ने आधार यही मूर्तिकला रहेको कलाकार राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ ।

उनले जानेको मूर्तिकलाको सीप र मेहनतलाई घटाएका छैनन् । तर पनि, आफ्नो व्यवसायमा अतिक्रमण बढेर मूर्ति नबिक्दा आर्थिक संकटको सामना गर्नुृ परिरहेको उनको दुःखेसो छ ।

अभिषेक मूर्ति उद्योगका नाममा बैधानिक रूपमा सञ्चालनमा रहेको आफ्नो उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रने अवैध मूर्तिले नराम्ररी अतिक्रमण गरिरहेको उनको गुनासो छ । भारतबाट अवैध रूपमा आउने मूर्ति नरोक्ने हो भने आफूजस्ता नेपाली माटोमा गरिखानेहरू भोकै मर्नुपर्ने दिन आइसकेको उनले बताएका छन् ।

मूर्ति उत्पादनमा चर्चित उनको उद्योगको लोकप्रियता मेचीदेखि महाकालीसम्म फैलिएको थियो । अहिले सम्झँदा उनलाई आफ्नो व्यवसाय बनावटी कथाजस्तो लाग्न थालेको छ ।

पछिल्ला केही वर्षयता आदिवासी जनजातिको मौलिक पहिचान जोगाउन कला संस्कृति संरक्षणमा जुटेका राजवंशी हिन्दु परम्पराका विशेषगरी दशैं, तिहार, छठ, सरस्वती पूजा, विश्वकर्मा पूजा, देवी पूजालगायतका लागि आवश्यक पर्ने मूर्ति निर्माणमा सकृय छन् ।

राजवंशीलगायत विभिन्न जातीय संस्कार संस्कृतिका झलक दिने मूर्ति बनाउन उनी व्यस्त छन् । पुर्ख्यौली पेशालाई निरन्तरता दिने उनी दोस्रो पुस्ताका मूर्तिकार हुन् । उनको मूर्ति हिन्दु संस्कृतिका विभिन्न पर्वहरुमा बढी खपत हुने गरेको छ । दुई जना छोराछोरीलाई स्तरीय शिक्षा दिने, घरपरिवार धान्ने आधार रहेको मूर्तिकला राजवंशी परिवारको पहिचान पनि हो ।

भारतमा सस्तो मूर्ति पाइने हल्लाले ग्राहक भारततिर जाने वा भारतीय व्यापारीले गाउँगाउँमा गएर मूर्ति बेच्न थालेपछि समस्या आएको राजवंशीको भनाई छ । उनका अनुसार भारतीय बजारमा भन्दा उनले उत्पादन गरेका मूर्ति निकै सस्ता छन् । तर, प्रचार अभावले ग्राहकले चाल नपाएका कारण बाहिर जाने गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्