झापा , भदौ ७ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरामा भएको बस दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

सशस्त्र प्रहरी बल, नेपालका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार अहिलेसम्म १४ जनाको शव बाहिर निकालिएको छ ।

त्यस्तै १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको डीएसपी थापाले जानकारी दिए । आज बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा अन्दाजी ४० भारतीय पर्यटक रहेको बताइए पनि औपचारिक रूपमा पुष्टि भने भइसकेको छैन ।

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरिरहेका छन् । बस मर्स्याङ्दी नदी किनारमा पल्टिएको अवस्थामा रहेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरामा दुर्घटना भएको बसले भारतको गोरखपुरबाट पर्यटक लिएर आएको खुलेको छ । दुर्घटनामा परेको केशरवाणी ट्राभल्सको यूपी ५३ एफटी ७६२३ नम्बरको बसका सञ्चालक अतुल केशरवाणी हुन् ।जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी मनोहर भट्टका अनुसार उक्त बस भदौ ४ गते बेलहिया नाकाबाट ८ दिनको रुट परमिट लिएर नेपाल भित्रिएको थियो ।

पर्यटकलाई भैरहवाबाट पोखरा पुर्‍याएर काठमाडौं ल्याउँदै गर्दा बस सडकबाट मर्स्याङ्दी नदी किनारमा खसेको हो । दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने अझै पनि उद्धार कार्य चलिरहेको छ ।

प्रहरीका अनुसार १६ जना घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ । बसमा अन्दाजी ४० जना यात्रु रहेका थिए । जसअनुसार अझै १० जना यात्रुहरु बेपत्ता रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्