झापा, भदौ ७ । झापामा विभिन्न राजनीतिक संगठनहरुले आफ्नो व्यानर राखेर अरुको घरजग्गा कव्जा गर्ने माओवादी रणनीतिलाई पुनरावृति गरेका छन् ।

व्यानर र झन्डा टांगिदिँदैमा कव्जा भइहाल्ने माओवादीको विगतको रणनीतिलाई केही संगठनहरुले गैरकानुनी ढंगले फेरि प्रयोग गर्न थालेका हुन् । वैज्ञानिक समाजवादी मोर्चा नेपाल भनिने संगठनले बिर्तामोड १ स्थित बाल्मीकि एजुकेशन एकेडेमीको अगाडि होमनाथ चौधरीको पसल भएको सुवास कटुवालको घरमा आफ्नो व्यानर र झन्डा राखेर कव्जाको घोषणा गरेको छ । कटुवालले बिर्तामोड नगरपालिका–१ बस्ने होम चौधरीलाई २०५७ सालमा आफ्नो खेतीपाती गर्न ल्याएको र त्यसवापत स्थायी रुपमा बसोबास गराइदिने भनेर आश्वासन दिएकोमा हाल विभिन्न मुद्दा मामिला, धाक धम्कीसहित उक्त जग्गाबाट निकाल्न दवाब दिएको भन्दै वैज्ञानिक समाजवादी मोर्चा नेपालका झापा जिल्ला संयोजक आशिष लिम्बूलगायत ५÷६ जनाको समूहले प्रेस विज्ञप्ति र झन्डा टांगेर घरजग्गा कब्जा भएको ब्यानर राखेका छन् ।

यसअघि गत साउन २२ गते एनआइसी एसिया बैंकले लिलामी गरेको बिर्तामोडको एक घरमा दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानले कव्जा गरेको भन्दै व्यानर टांगेको थियो ।
बिर्तामोड ५ स्थित शाक्य मेडिकलको सय मिटर उत्तरमा रहेको गिरीधारी पोद्धारको घर एनआइसी एसिया बैंकले लिलामी गरेको थियोे । सो घर कब्जा गरेको भन्दै महाअभियानले राखेको व्यानर भोलिपल्ट प्रहरीले हटाएको थियो ।

त्यस्तै गत वर्ष कपिलमणि शिवाकोटीको बिर्तामोड ५ मा रहेको जग्गामा परेको अरु व्यक्तिको घर हटाउन खोज्दा विप्लव माओवादी नेतृत्वको कम्युनिष्ट पार्टीले व्यानर राखेर कव्जाको घोषणा गरेको थियो । जुन पछि प्रहरीले हटाएको थियो ।

कानुनी राज्यमा अझै पनि राजनीतिक संगठनहरुले त्यसरी व्यानर र झन्डा राख्दैमा कव्जा भइहाल्ने सोच राख्नु गलत भएको एक प्राध्यापक बताउँछन् । उनी त्यसरी अरुको घरजग्गा कव्जा गर्नेहरुलाई प्रहरी प्रशासनले कडा कार्वाही गर्नुपर्नेमा जोड दिन्छन् । विशेषगरी घरजग्गाको कारोवार भएको ठाउँमा आर्थिक लाभ मिल्ने देखेर संगठनहरु कव्जाको रणनीतिमा अग्रसर भएको देखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्