लक्ष्मी उप्रेती

बाहुनडाँगी । मानव सेवा आश्रमले २०८२ सालभित्रमा देशका सडकपेटी र सार्वजनिक स्थलहरुमा रहेका घरपरिवार र आफन्तविहीन सहयोगापेक्षी सडक आश्रित व्यक्तिहरुको उद्धार गरी सडक मानवमुक्त राष्ट्र निर्माण गर्ने लक्ष्य पुरा गर्न देशका विभिन्न ठाउँमा मानव सेवा आश्रम सञ्चालन गरिरहेको छ । यो लक्ष्य पुरा गर्न मानव सेवा आश्रमका अभियन्ताहरु तीब्ररुपमा लागिरहेका छन् ।

यसैक्रममा सहयोगापेक्षी सडक आश्रित मानवलाई उद्धार गरेर आश्रय दिने उद्देश्यले मेचीनगर नगरपालिका–४ आमडाँगीमा मानव सेवा आश्रमले एक करोड रुपैयाँको लगानीमा निर्माण गरेको भवन अनौपचारिकरुपमा सञ्चालनमा ल्याएको मानव सेवा आश्रमका अभियन्ता होमनाथ तिम्सिनाले जानकारी दिए । आश्रमको केही दिनमा औपचारिकरुपमा उद्घाटन गर्ने तयारी छ । सडक पेटीमा बस्ने, भोको पेट रात काट्ने र सहयोगापेक्षी मानवको उचित बसोवास गर्न भवन निर्माणका लागि मेचीनगर —४ आमडाँगीका दाता परिवार रामबहादुर प्रधान श्रीमतीहरु पूर्णमाया प्रधान र लक्ष्मी प्रधानले निःशुल्क प्रदान गरेको सवा दुई विगाह जमिनमध्ये दश कठ्ठा जमिनमा आश्रम भवन निर्माण गरिएको हो ।

आश्रम निर्माणका लागि मेचीनगर नगरपालिकाले २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर उपप्रमुख मीना पोख्रेल उप्रेतीले जानकारी दिइन् । चालु आर्थिक बर्षमा पनि १० लाख रुपैयाँ बजेट विनियोजन गरिएको उनको भनाइ छ । मेचीनगर नगरपालिकाको संयोजनमा कनकाई नगरपालिकामा बसेको पालिकाका प्रमुख ÷अध्यक्षहरुको बैठकबाट जिल्लाका कनकाई, भद्रपुर, विर्तामोड, अर्जुनधारा नगरपालिका र बुद्धशान्ति गाउँपालिकालगायतले पनि यस कार्यमा सहकार्य गर्न केही बजेट समेत बिनियोजन गरिसकेको बताइएको छ ।

हाल आश्रममा २१ जना सडक आश्रित मानव राखिएको छ । बिहीवारमात्र मेचीनगर नगरपालिकाको संयोजनमा तीन जना सडक आश्रित मानवको उद्धार गरिएको छ । नगर प्रमुख गोपालचन्द्र बुढाथोकी , उपप्रमुख मीना पोख्रेल उप्रेतीसहितको टोलीले मेचीनगर क्षेत्रमा बेवारिसे अवस्थामा सडकपेटी तथा मठमन्दिरमा बस्दैं आएका सहयोगापेक्षी सडक आश्रित मानवलाई उद्धार गरेर आश्रम पुर्याइएको हो ।

मेचीनगर —७ मदनबस्तीका कृष्ण राजवंशी, इलाम बरबोटेका तुलसी गौतम र ठेगाना नखुलेका शत्रुधन मिश्रालाई मदनबस्ती र काँकरभिट्टाबाट उद्धार गरी नगरप्रमुख, उपप्रमुखसहित मानव सेवा आश्रमका अभियन्ता होमनाथ तिमल्सिनासहितको टोलीले मानव सेवा आश्रम मेचीनगर —४ आमडाँगीमा ल्याइएको थियो । नगर प्रमुख बुढाथोकी, उपप्रमुख उप्रेतीसहितको टोलीले उद्धार गरिएका तीनैजनासहित २१ जनालाई रात्री भोजन गराएको थियो ।

प्राप्त जग्गामा सहयोगापेक्षीलाई राख्न लागि आवश्यक थप भवन निर्माण गर्न झापा जिल्लाका सवै पालिकाहरुसँग समन्वय गरिएको नगर प्रमुख बुढाथोकीले जानकारी दिए ।

सोही स्थानमै करिब दुई सय जना अटाउने क्षमताको आश्रमका लागि भवन निर्माण गर्ने तयारी रहेको छ । पहिलो चरणमा करिब ५० जना सहयोगापेक्षी तथा बेसहारा सडक मानवहरुलाई आश्रयका लागि आवास र भान्सा निर्माण गरिएको छ । मेचीनगरमा आश्रम अनौपचारिकरुपमा सञ्चालनमा आएसँगै झापा, इलामबाट उद्धार गरिएका असहाय, बेसहारा सहयोगापेक्षी सडक आश्रित मानवलाई राखिने भएको छ ।

विगतमा जिल्लाबाट उद्धार गरिएकाहरुलाई विराटनगरस्थित आश्रममा राखिने गरिएको थियो । देशका विभिन्न स्थानमा सञ्चालन रहेका आश्रममध्ये मेचीनगरमा निर्मित २३ औं शाखा रहेको अभियन्ता तिम्सिनाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्