कुमरखोद, भदौ ८ गते । झापा गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा दोहोरी चल्यो ।

जनप्रतिनिधिहरुले सर्वसाधारण जनताको जिज्ञाशाको जवाफ दिन सार्वजनिक सुनुवाई आयोजना गरिएकोमा राजनीतिक दलहरुबीच नै दोहोरी चलेको देखियो । कोही जनप्रतिनिधिहरुको विरुद्धमा उत्रिए भने कोही समर्थनमा देखिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ सभापति लक्ष्मण तिवारीले झापा गाउँपालिकाले विकासको नाममा केही पनि काम नगरेको आरोप लगाए । समयमा किसानलाई बीउविजन उपलब्ध नगराएको , शैक्षिक सुधारका कार्यक्रमहरु ल्याउन नसकेको उनको गुनासो थियो ।

त्यसैगरी नेकपा माओवादीका प्रतिनिधि ज्यावुल हकले झापा गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिहरु आफ्नो इच्छाले काम नगरी स्थानीय छाँया सरकारको इशारामा काम गरेको गुनासो गरे ।

त्यसैगरी नेकपा एमालेका गाउँ कमिटी उपाध्यक्ष माधवकुमार पोख्रेलले गाउँपालिकामा रहेका विभिन्न समस्याहरु औल्याए । स्वास्थ्य , शिक्षाको समस्यासंगै गुणस्तरीय कालोपत्रे निर्माण नभएको , कृषिको लागि बीउवीजन र सिंचाईको लागि बिजुली , गरिव विपन्न परिवारलाई स्वास्थ्य विमाको व्यवस्था नभएको उनले बताए ।

त्यसैगरी लोकतन्त्र समाजवादी पार्टी गाउँ कमिटी अध्यक्ष प्रभु नारायण यादवले स्वास्थ्य ,शिक्षा , खानेपानीको समस्यासंगै कृषकलाई समयमा बीउविजन र रासायनिक मल उपलब्ध नगराएको गुनासो गरेका थिए ।

तर, अगुवा कृषक चन्द्र बस्नेतले झापा गाउँपालिकालाई उज्यालो गाउँपालिका , खुल्ला दिशामुक्त क्षेत्र , पालिकाभरि कालोपत्रे, निःशुल्क शिक्षा , सातवटै वडामा स्वास्थ्य केन्द्र स्थापना गरेर जनप्रतिनिधिहरुले राम्रो काम गरेको बताए ।

यसैगरी नेपाली काँग्रेसका नेता टंक विश्वकर्माले पनि झापा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले जनताको हितमा काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

त्यस्तै झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपालले अरु पालिकाको तुलनामा झापा गाउँपालिकामा वढी विकास भएको दावी गरेका थिए ।

झापा गाउँपालिकामा वर्षभरि संचालन भएका योजना तथा कार्यक्रम र आयव्ययको विषयमा सार्वजनिक सुनुवाई भएको हो । पालिकाका सबै शाखा प्रमुखले वार्षिक प्रतिवेदन प्रस्तुत गरेपछि प्रतिवेदन र पालिकाको सेवा प्रवाहको विषयमा सहभागीहरुले जिज्ञाशा राखेका थिए ।

कार्यक्रममा कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया ,प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया, वडा नं १ का अध्यक्ष राजकुमार यादव , वडा नं. २ का हिमालकुमार चम्लागाई , वडा नं. ३ का सुभाषलाल गणेश , वडा नं ४ का ताहिर मुल्वी , वडा नं. ६ का नविनकिशोर थापा , नेपाली काग्रेस झापा गाउँपालिका सभापति सागीरथप्रसाद गणेश , न्यायिक समिति सदस्य राजकुमार कोच , दिलिप विश्वकर्मा , जगन्नाथ राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख युवराज कोइरालाले गरेका थिए भने प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमका सहभागीहरुले उठाएका प्रश्नको कार्यवाहक अध्यक्ष थपलियाले जवाफ दिएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्