झापा,भदौ ८ । खोलामा डुबेर खोटाङमा दुई बालकको ज्यान गएको छ । विद्यालयबाट घर फर्कने क्रममा दुई बालको खोलामा डुबेर मृत्यु भएको हो ।

ऐसेलुखर्क गाउँपालिका–१ राखाबांदेलका नौ वर्षीय राज राई र ११ वर्षीय अर्जुन राईको स्थानीय चङ्खु खोलाको दहमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । साबिकको राखाबांदेल–६ खिरुका राज सोही ठाउँमा रहेको जनहित प्राविमा कक्षा ४ मा र अर्जुन कक्षा ५ मा अध्ययनरत थिए ।

शुक्रबार स्कुलबाट घर फर्कनेक्रममा पौडी खेल्न दहमा पसेका दुई बालकको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।

चङ्खु खोला हिउँदमा सानो भए पनि वर्षामा ठुलो हुने गरेको छ । स्थानीयले हिउँदको समयमा गाईबस्तुलाई पानी खुवाउनका लागि दह बनाएका थिए । अहिले वर्षाको पानीले खोलाको सतहसँगै बढेको दहमा पस्दा दुई छात्रले ज्यान गुमाएका हुन् ।

घर र विद्यालयको बिचमा पर्ने चङ्खु खोलामा वारपार गर्न झोलुङ्गे पुल छ । तर विद्यालयबाट सँगै घर फर्किरहेका चार विद्यार्थीमध्ये दुई जना भने ‘गर्मी भयो’ भन्दै पौडी खेल्नका लागि पुलबाट करिब ५० मिटर तल दहमा झरेका थिए । सँगै रहेका दुई विद्यार्थी भने पुलमै बसेर रमिता हेरिरहेका थिए । पौडी खेल्न पसेका बालक डुबेपछि पुलमा बसेर हेरिरहेका विद्यार्थीले गाउँमा खबर पु¥याएको स्थानीय पुरुषोत्तम राजभण्डारीले बताए ।

घटनाको विषयमा जानकारी आए लगत्तै इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीको टोलीले घटनास्थल पुगेर कानुनी प्रक्रिया पूरा गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्