झापा, भदौ ९ । उपाधिको दाबेदार मानिएको टोली बिर्तामोड युनाइटेड एफसी झापालाई रोक्दै सिरहाको सलहेश युवा क्लब ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोश्रो ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा टाइब्रेकरमा बिर्तामोडलाई ४–२ गोलअन्तरमा पराजित गरेर सिरहा फाइनलमा प्रवेश गरेको हो । खेलको निर्धारित ९० मिनेट र अतिरिक्त १५ मिनेटमा पनि दुवै टोलीले १–१ गोलको बराबरी खेलेका थिए । खेलको १८औँ मिनेटमा सिरहाका लागि जोन ग्लोरीले गोल गर्दै अग्रता दिलाएका थिए । तर, आफ्नै टोलीका सदस्य सेवेले आत्मघाती गोलको उपहार दिएपछि झापा बराबरीमा आएको थियो । खेलको ५६औँ मिनेटमा सेवेले आफ्नै पेनाल्टी एरियामा हेड फ्लिक गर्दा झापा खेलमा फर्किएको थियो । १०५ मिनेटमा पनि खेलको निर्णय हुन नसकेपछि टाइब्रेकरमा धकेलिएको हो ।

टाइब्रेकरमा बिर्तामोडका निमा तामाङको प्रहार सिरहाका गोलरक्षक प्रदिप भण्डारीले रोकेका थिए भने सौरभ लिम्बूको प्रहार गोलपोस्टमा लाग्दै भित्रियो । हिसुब थपलिया र रोहन कार्कीको प्रहारमात्र गोलमा परिणत भएको थियो । यसैगरी, सिरहाका श्रृजन क्षेत्रीको प्रहार आकासिँदा प्रवेश दनुवार, जय गुरुङ, सन्तोष खत्री र आदित्य शाक्यको प्रहार गोलमा परिणत भयो ।

खेलको म्यान अफ द म्याच गोलरक्षक प्रदिप भण्डारी भए । उनले नगद ५ हजार पाए । योसँगै फाइनलका लागि सिराहाले मोरङको सगरमाथा युथ क्लबसँग भेट पक्का गरेको छ । पहिलो सेमिफाइनल खेलमा ताप्लेजुङको संघर्ष स्पोर्टिङ युवा क्लबलाई २–१ गोलले पराजित गर्दै मोरङ फाइनलमा प्रवेश गरेको हो । भदौ १० गते हुने फाइनलको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार ५ सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्