विर्तामोड, भदौ ८ । अहिले युवा पुस्तामा १२ कक्षा सक्नेवित्तिकै विदेश जाने लहर छ । तर, झापा गाउँपालिका–६, झाँटी घर भएका एक जना युवाले भने विदेश छाडेर आफ्नै ठाउँमा व्यवसाय गर्ने जमर्को गरेका छन् ।

२३ वर्षीय मञ्जील पोखरेल वैदेशिक रोजगारीका लागि दुबई गए । साथीहरुसँग मिलेर त्यहीँ आईटी कम्पनी खोले र त्यहीँबाट अमेरिका जाने प्रक्रियासमेत सुरु गरे ।

‘साथीहरु मिलेर कम्पनी चलाइरहेका थियौं, पछिल्लो समय दुबईबाटै अमेरिकाका लागि एप्लाई गरिरहेका थियौं’, उनी सम्झन्छन्, ‘विजनेस गरिरहेकाले कम्पनीको ट्रान्जेक्सनअनुसार अमेरिका जानलाई गाह्रो पनि रहेनछ, केही साथीहरु त्यसैगरी गइसकेका थिए ।’ सबैको उद्देश्य विजनेस भिसामा अमेरिका छिर्ने र त्यतै बस्ने थियो ।

अरु साथीहरुझैँ उनी पनि दुबईस्थित अमेरिकी दूतावासबाट भिसा अन्तरवार्ताको मिति लिएर बसेका थिए । पर्खाइको अवधिमा कोठामा रहँदा उनले घरतिर सम्झिए । दुबईमै राम्रै आम्दानी भइरहेको सम्झिए ।

घरमा काका–ठूलोबुबाका हरेक घरबाट एकजना विदेशतिर हानिएको सम्झिए । सबैका घरमा बुबाआमा मात्र एक्लै भइरहेको सम्झिए ।
‘अनि मलाई लाग्यो, सबै विदेश मात्र जाने ? आफ्नै ठाउँमा केही गर्न नसकिने नै हो ?’, मञ्जील भन्छन्, ‘अमेरिका छिरेपछि फेरि कहिल्यै फर्किएर आइन्छ जस्तो पनि लागेन । बरु घरमा भए अलि दुःख होला तर, दुबईमा कमाएजति त कमाइ होला नि भन्ने लाग्यो ।’ त्यसपछि उनको मञ्जील फेरियो, दुबई हुँदै अमेरिकाको सपना देखिरहेका उनले फेरि आफ्नै गाउँ फर्किने निधो गरे ।

झापा गाउँपालिका–६ का पूर्व वडा सदस्यसमेत रहेका बुबा मोहन पोखरेलसँग आफ्नो योजना सुनाए । आफ्नै ठाउँमा केही गर्ने छोराको योजना सुनेपछि स्थानीय एमाले नेतासमेत रहेका पोखरेल पनि उत्साहित भए ।‘परिवारमा व्यवसायसँग कोही पनि अहिलेसम्म जोडिएका थिएनन्, छोराले गर्छु भनेपछि खुशी लाग्यो’, उनी भन्छन् । त्यसपछि मञ्जीलको योजनाअनुसार, व्यवसाय गर्ने योजनाको खोजी सुरु भयो ।त्यसक्रममा एक जना साथीमार्फत चिनजान भएका प्लाई व्यवसायीसँग उनको सम्पर्क भयो । पछि गुणस्तरीय प्लाई उत्पादनमा चिनिएको शिखर प्लाईको झापा डिलर खोल्ने निष्कर्षमा मञ्जील पुगे ।

त्यहीअनुसार, उनले हजुरबुबा छविलाल र आमा विष्णुमायाको उपस्थितिमा शनिबार विर्तामोडको भद्रपुर रोडमा ‘शिखर होम डेकोर’ उद्घाटन गरेका छन् ।

मञ्जिलका अनुसार, ‘शिखर होम डेकोर’ झापाका लागि शिखर प्लाईको मुख्य विक्रेता भएपनि पसलमा घर निर्माणका लागि आवश्यक सिमेन्ट र रडबाहेकका हरेक सामग्री पाइन्छ ।

‘मोडुलर किचन, किचन डेकोरेसन, ढोका, फर्निचर आइटम, केएनपी नेरोल्याक पेन्ट्सलगायतका सामान राखिएको छ’, उनले भने, ‘पसलमा जम्मा लगानी करिब ३० लाख पुगिसकेको छ ।’

कक्षा १२ सकिनेवित्तिकै दुबई गएपछि उनले पढाइलाई निरन्तरता दिन पाएका थिएनन् । तर, एक वर्ष पनि त्यहाँ नबसी स्वदेश फर्किएपछि उनी बिर्तामोडमै कुनै कलेजमा भर्ना भएर पढाइलाई समेत निरन्तरता दिने तयारीमा छन् ।
दुबई जानुअघि काठमाडौंमा रहँदा उनले ‘वाटर एटीएम’मा पनि काम गरेका थिए । उपत्यकाका विभिन्न ठाउँमा राखिएका वाटर एटीएम बुथमा एक रुपैयाँको डलर राखेपछि कप थापेर ‘फिल्टर’ गरिएको पानी पिउन पाइन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्