भद्रपुर, भदौ ८ । भद्रपुर १० स्थित वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा भद्रपुर १० नम्बर वडाध्यक्ष टेकबहादुर खड्का काजीको प्रमुख आतिथ्यमा उत्कृष्ट सम्मान, वार्षिक प्रगति विवरण पेशलगायतका गतिविधिका साथ सभा सम्पन्न भएको हो ।

सचिव विदुर ढुंगानाले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष निरौलाले संस्थाको वार्षिक प्रगति विवरणसहित २८० महिला, ३१३ पुरूष गरी ५९३ शेयर सदस्य तथा ४८ लाख १६ हजार २०० शेयर पूँजी रहेको विवरण प्रस्तुत गर्दै नीति तथा कार्यक्रम पेश गरेका थिए ।

उत्कृष्ट सञ्चालक सम्मानबाट कोषाध्यक्ष मञ्जु खतिवडा अधिकारी, उत्कृष्ट बचत कारोवार सम्मानबाट गोपाल थापा मगर र उत्कृष्ट ऋण कारोवार सम्मानबाट स्मिता गुरूङ तथा जेष्ठ सदस्य सम्मानबाट असारी राजवंशीलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोषाध्यक्ष मञ्जु खतिवडाले आर्थिक प्रतिवेदन पेश गर्दै दुई करोड ६५ लाख ५८ हजार २०८ रूपैयाँको वार्षिक कारोवार तथा सञ्चालन मुनाफा पाँच लाख ८३ हजार ४३७ रूपैयाँ रहेको जानकारी दिइन् । लेखा समिति संयोजक मुरारी न्यौपानेले प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको कारोवार सहकारी सञ्चालन मापदण्डअनुकूल रहेको जानकारी दिएका थिए ।

उपाध्यक्ष डिल्लीराम अधिकारीले स्वागत गरेको कार्यक्रममा ज्ञानोदय शिक्षक सहकारीका गोकुलराज न्यौपाने, प्रकाश एकता कृषि सहकारीका अध्यक्ष गोपालप्रसाद श्रेष्ठ, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन भद्रपुरका अध्यक्ष लावण्यकुमार पोखरेल, विभूति विद्या मन्दिर चन्द्रगढीका प्रिन्सिपल गोविन्द लम्साललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्