उर्लाबारी, भदौ ८ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले केन्द्रमा प्रत्यक्ष निर्वाचित अध्यक्ष हुने नीति बनाउन लागिएको जानकारी दिएका छन्।

उनले आगामी दिनमा महासंघको अध्यक्ष पदमा प्रत्यक्ष निर्वाचनमार्फत चयन गरिने योजना बनिरहेको बताएका छन् । यो नीति लागू भएपछि महासंघको नेतृत्व चयन प्रक्रियामा पारदर्शिता बढ्ने अपेक्षा गरिएको र सदस्यहरूको सीधा सहभागिता सुनिश्चित हुने बताउँदै ढकालले यस योजनालाई महासंघको संस्थागत सुधार र सशक्तिकरणतर्फको महत्वपूर्ण कदमको रूपमा व्याख्या गरेका छन्।

उर्लाबारी उद्योग वाणिज्य संघको ३६ औँ साधारण सभामा केन्द्रीय अध्यक्ष ढकालले निजी क्षेत्रलाई साँघुरो बनाइनुहुन्न भन्ने धारणा राख्दै निजी क्षेत्रको स्वतन्त्रता र महत्वलाई उजागर गरेका छन् । उनले निजी क्षेत्रलाई विकासको महत्वपूर्ण अंगको रूपमा हेरिनुपर्ने र यसलाई विस्तार गर्न प्रोत्साहन दिनुपर्ने बताए । साथै, उनले सरकारी नीति, नियम र नियन्त्रणले निजी क्षेत्रलाई सीमित गर्नुभन्दा पनि तिनीहरूलाई सहयोगी वातावरण प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

सो कार्यक्रममा केन्द्रीय उपाध्यक्ष हेमराज ढकाल, कोशी प्रदेश अध्यक्ष राजेन्द्र दाहाल,कोशी प्रदेश सांसद उमाकान्त गौतम,संघका केन्द्रीय सदस्य तथा घरेलु उद्योगका सभापति नरेन्द्र खड्का, राजनैतिक दलहरूका तर्फबाट जनता समाजवादी पार्टी उर्लाबारी नगर कमिटीका अध्यक्ष मातृकाप्रसाद धिमाल, आन्तरिक राजस्व कार्यालय विराटनगरका प्रमुख गोपाल शाक्यलगायतले बोलेका छन् ।

त्यसैगरी उर्लाबारी नगर प्रमुख गंगाप्रसाद खरेलले उद्योग वाणिज्य संघको निर्वाचनमा केही सदस्यहरूले अन्य सदस्यहरूको सदस्यता नवीकरण आफैँले गरेर हिँड्ने गलत कार्य भइरहेको बताए । यसले निर्वाचन प्रक्रियामा अनियमितता र पारदर्शिताको अभाव खड्किने बताए । उनले यस्तो क्रियाकलापलाई अस्वीकार गर्दै यसले संघको सदस्यहरूको वास्तविक इच्छा प्रकट हुन नसक्ने खतरा रहेको औंल्याएका छन्।

कार्यक्रममा दुईजना पत्रकारसहित १७ जनालाई सम्मान गरिएको थियो। प्राइम एफएम उर्लाबारीका सञ्चालक मोहन नेम्बाङ र राष्ट्रिय समाचारपत्र दैनिकका सम्पादक केदार चौहानलाई आयोजक उर्लाबारी उद्योग वाणिज्य संघले सम्मान गरेको हो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्