बिर्तामोड , भदौ ९ ।उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) झापाले कक्षा ११ को परीक्षामा उत्कृष्ट जिपिए प्राप्त गर्ने विभिन्न संकायका विद्यार्थीलाई शनिबार पुरस्कृत गरेको छ ।

बिर्तामोडमा कार्यक्रमको आयोजना गरी हिसानले उत्कृष्ट अङ्क प्राप्त गर्ने विद्यार्थीलाई मेडल, प्रमाणपत्र र नगदसहित पुरस्कृत गरेको हो । कार्यक्रममा विज्ञान, मानविकी, कानून, शिक्षा , व्यवस्थापन र होटल मेनजमेन्ट संकायका उत्कृष्ट विद्यार्थी पुरस्कृत भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड प्रदेश व्यवस्थापन कार्यालय विराटनगरका प्रमुख जीवन गड्तौलाको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै प्रादेशिक प्रमुख गडतौलाले विश्वसनीय र वैधता हुने गरी विद्यालय तहमा मार्किङ स्किम बनाएर उत्तरपुस्तिका परीक्षण गर्नुपर्ने बताए ।

उनले विद्यार्थीको रुचि, योग्यता, क्षमता पहिचान गर्न सके मात्रै दक्ष जनशक्ति उत्पादन हुनेमा जोड दिए । हिसान झापाका अध्यक्ष टेकनाथ भण्डारीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेलले अहिलेका विद्यार्थीलाई ज्ञान दिएर मात्रै नपुग्ने बताए ।कार्यक्रमका विशेष अतिथिसमेत रहेका उपाध्यक्ष पोखरेलले भने, ‘ज्ञानले मात्रै हुँदैन सीप पनि चाहिन्छ । अब विश्व बजारको मागअनुसार विद्यार्थीलाई ज्ञानसँगै सीप पनि सिकाउनुपर्छ ।’

हिसान झापाका सचिव देवेन्द्र हुमागाईंका अनुसार उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई हिसानले निरन्तर प्रोत्साहित गर्दै आइरहेको छ । उत्कृष्ट भएका विद्यार्थीले मासिक शुल्कमा समेत छात्रवृत्ति पाउने व्यवस्था रहेको सचिव हुमागाईंले जानकारी दिए ।

जिल्ला प्रथम हुने विद्यार्थीलाई ५ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजारका दरले पुरस्कृत गरिएको छ ।

कार्यक्रममा बिर्तामोड वडा नम्बर ४ का वडाध्यक्ष राहुल शर्माले विद्यार्थीलाई भविष्यका कर्णधार भनेर मात्र नपुग्ने बताउँदै उनीहरूलाई वर्तमानका साझेदारका रुपमा बुझ्नुपर्ने बताए ।
कार्यक्रममा दिइएको जानकारी अनुसार कक्षा ११ को विज्ञान संकायको परीक्षामा ग्लोबल एकेडेमी दमकका रुपेश नेपाल जिल्ला प्रथम भएका छन् । निदि सेकेन्डरी स्कुलका विजय पाण्डेले दोस्रो स्थान हासिल गरेका छन् ।

बिजनेस स्टडीतर्फ एकता एकाडेमी दमकका मेलिसा भट्टराई प्रथम, न्यूटन्स एजुकेसन एकाडेमीकी सावित्रा न्यौपाने दोस्रो र बिर्ता मोडलकी निर्जला राई तेस्रो भएका छन् ।

तेस्रो भएका अरु तीनजना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ । निदि स्कुलका अमित कट्टेल, ग्लोबलकी निर्जला निरौला र एमिटीका जेनिस भण्डारी तृतीय भएका हुन् ।

त्यस्तै कम्प्युटर साइन्सतर्फ प्रजीता एकेडेमीकी आयुष खड्का प्रथम ,एकता एकेडेमीकी सम्पदा अधिकारी दोस्रो तथा पशुपति एकेडेमीकी अंकिता पौडेल र निदि सेकेन्डरी स्कुलकी अन्जली तामाङ तेस्रो भएका छन् । त्यस्तै होटल मेनेजमेन्टतर्फ आदर्श स्कुल प्रथम , एकता एकेडमी दोस्रो र गोमेन्द्र बिर्ता मोडल स्कुल तेस्रो भएको छ ।

त्यस्तै शिक्षा संकायतर्फ मनकामना कलेज प्रथम,वन्डरल्यान्डकी सपना राई दोस्रो , मानविकी संकायतर्फ ग्लोवल एकेडेमीकी एलिसा अधिकारी प्रथम भएकी छन् । त्यस्तै कानुन संकायतर्फ मनकामना कलेज प्रथम , ग्लोवल एकेडेमीकी आशिका राई दोस्रो भएकी छन्

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्