बिर्तामोड , भदौ ९ । झापाको बिर्तामोडमा बजाज अटो र स्कोडा कारको डिलर खोलेका हलेसी ट्रेडलिंकका प्रोप्राइटर चुडामणि पौडेल करोडौं रकम ठगी गरी वेपत्ता भएका छन् ।

गत साउन २० गतेदेखि उनी अचानक परिवारसहित वेपत्ता भएको बताइएको छ । बुद्धशान्ति गाउँपालिका २ शान्तिनगर पुरानो ठेगाना भई हाल अर्जुनधारा ६ बिहानी टोलको रोड नं ७ मा घर भएका पौडेलले ७ करोडभन्दा बढी रकम ठगी गरी भागेको पीडितहरुले बताएका छन् । करोडौ रकम डुबेपछि पीडितहरु आज इलाका प्रहरी कार्यालय बिर्तामोडमा उजुरी दिनका लागि भेला भएका थिए । विभिन्न प्रकृतिको ठगी भएकाले प्रहरीले भिन्नाभिन्नै उजुरी दिन भनेपछि उनीहरुले आज उजुरी दिएनन् ।

पीडितका अनुसार पौडेलले महेन्द्र आचार्यको १ करोड २० लाख , घनश्याम रिजालको २० लाख , कमल पाण्डेको १४ लाख , गोपाल सिटौलाको ५२ लाख , भेषराज दाहालको ३४ लाख,प्रकाश बस्नेतको २१ लाख ३५ हजार , सनम तामाङको २५ लाख , अनिल पाठकको ४० लाख ,इशुभ पाण्डेको साढे २२ लाख ,लक्ष्मी निरौलाको २० लाख , युवराज निरौलाको ८ लाख , टीका खवासको १० लाख , रेवत लामाको १० लाख , पृथ्वी मगरको १५ लाख,केशव श्रेष्ठको १७ लाख , बसपार्कमा हार्डवेयर रहेका खड्का थरीका व्यक्तिको ७ लाख ,लक्ष्मण आचार्यको ९ लाख ४० हजार , निलम गिरीको २० लाख, हरि तिवारी र मनोज गोम्देनको ३५ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

उनीमाथि मनोज गोम्देन , हरि तिवारी , प्रकाश बस्नेत र कमल पाण्डेले चेक बाउन्सको तीनवटा मुद्धा दायर गरेका छन् । सापटी र ऋण माग्दै पौडेलले करोडौं डुबाएको पीडितमध्येका प्रकाश बस्नेतले बताए । ‘हप्ता दिनका लागि सापटी मागेका थिए , पछि महिना दिनको भाका माग्दै व्याज दिने भनेर झुक्याए ’ बस्नेतले भने,‘ मेरो २१ लाख ३५ हजार रुपैयाँ डुबाए ।’

दुःख गरेर जोगाएको आफूहरुको १० लाख रुपैयाँ ठगी गरेको अर्का पीडित टीका खवासले बताइन् । पीडित रेवत लामाले ठगी गरी फरार पौडेललाई देखेमा ९७६७७९२२६६ नम्बरमा सम्पर्क गरिदिन फेसबुकमार्फत फोटो सार्वजनिक गरी अपिल नै गरेका छन् ।


अटो चालकहरु पनि पीडित
पौडेलले बिर्तामोडमा बजाजको अटो सोरुम खोलेका थिए । निकै चलेको सो सोरुमबाट धेरैले अटो खरिद गरेका थिए । अटोको पैसा लिएर डेढ सयभन्दा बढी अटो उनले पास गर्न बाँकी रहेको बताइएको छ । ‘हुरहुरेको चिसो हावाले’, ‘घुमाउन लैजान्छु अटोरिक्सामा’ जस्ता गीत लेखेका पौडेलले व्यावसायिक ,सामाजिक र कलाकारिताको आडमा धेरैलाई ठगेको बताइएको छ । बेपत्ता भएपछि उनको घर बन्द रहेको छ । उनको घरमा अदालतले मुद्धाको प्रतिउत्तरका लागि पत्र टाँसेको जनाइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्