दमक, भदौ १० । दमकको पूर्व बसस्टेन्डमा अन्डरग्राउन्डमा रहेको होटल साइनोमा कोही व्यक्ति छिर्नेवित्तिकै यौनकर्मी युवतीहरु छेउमै आइपुग्छन् । अनि उनीहरुले सिधै सोध्छन् –बस्ने हो ?

दमकको पूर्व बसस्टेन्डमा संचालित होटलहरु

होटल साइनो यौन व्यवसायकै लागि संचालन गरिएको रहेछ । त्यहाँ पेय पदार्थबाहेक खाने परिकार खासै पाइदैन । हातमा वियर बोकेका चुरोट तान्दै गरेका युवतीहरु ग्राहकलाई सोध्ने काम मात्र गर्दैनन् , यौन कार्यका लागि उत्प्रेरित पनि गर्ने गर्छन् । होटल साइनोमा २० वर्षभन्दा कम उमेरका ७ जना यौनकर्मी युवतीहरु राखिएका छन् । त्यही होटलको कोठामा उनीहरुले यौन धन्दा गर्छन् । एक पटक यौन सम्पर्क गरेको एक हजार र रातभरि बसेको पाँच हजार रुपैयाँ रेट सबैतिर कायम गरिएको छ । पूर्व बसस्टेन्डमै रहेको होटल मिलनमा दुईजना युवती राखिएका छन् । त्यसमध्ये एकजना बेलडाँगी शिविरकी राई थरकी शरणार्थी युवती हुन् । आफूले होटल मिलनमा काम गर्न थालेको पाँच महिना भएको उनले बताइन् । ‘ हामी दुईजना होटलमै हुन्छौं , ग्राहक धेरै आएमा साहुनीले बाहिरबाट अरु केटी बोलाईदिनु हुन्छ’ उनले भनिन् । ग्राहकसंग यौन सम्पर्क गरेवापत साहुनीले हजार रुपैयाँ लिने गरेकोमा पाँच सय रुपैयाँ आफूले पाउने गरेको उनले बताइन् । दमकका धेरै होटलहरुमा त्यस किसिमको व्यवसाय संचालन भइरहेकाले ग्राहक धेरै नआउने गरेको उनले बताइन् ।नेपालीभन्दा भारतीयहरु ग्राहकको रुपमा बढी आउने गरेका छन् ।

‘रेड एरिया’ को रुपमा रहेको दमकको पूर्व बसस्टेन्डमै रहेका पूर्वेली , नेवा इन , व्याकसाइड, माता मनकामना , केसीजस्ता होटल यौंन व्यवसायका लागि कुख्यात मानिन्छन् । त्यस्तै दमकको न्यू हिमाली होटल एण्ड लज , मिनाम होटल एण्ड लज , होटल सौगातजस्ता करिव दुई दर्जन होटलमा यौन व्यवसाय हुने गरेको बताइएको छ । त्यस्ता होटलहरु अधिकांश महिलाहरुले चलाएका छन् । काउन्टरमा बसेका होटल संचालिकाहरु ग्राहकको प्रतीक्षा गरिरहेका हुन्छन् ।

प्रहरीले केही दिनअघि दमकका १८ वटा होटलमा छापा मारेको थियो । तर कसैलाई पनि पक्राउ गर्न सकेन । प्रहरीले होटल ढावा , केसी ,प्रिन्स , माता मनकामना ,रुद्राक्ष , पुकार , नेवा इन होटल एण्ड लज , व्याकसाइड ,पूर्वेली , न्यू पाथीभरा , साइनो , हाम्रो , गुगल, न्यू ताप्लेजुङ, कंचनजंघा , सेवारो गेष्टहाउस , सेभेन ओसियन, अमृत होटल एण्ड लजमा छापा मारेको दमक प्रहरीले जनाएको छ । ती होटलमा यौन व्यवसाय संचालन गरिरहेको गुनासो आएपछि सर्च गरिएको एक प्रहरी अधिकारीले बताए ।

प्रहरीसंग लाइन मिलाएर धन्दा, देखावटी छापा
दमकमा खुल्लमखुला यौन व्यवसाय संचालन भइरहेपनि प्रहरीले अहिलेसम्म कसैलाई पनि पक्राउ गरी कार्वाही गरेको छैन । प्रहरीसंग लाइन मिलाएर व्यवसाय गरिरहेकाले होटल व्यवसायीहरु सुरक्षित छन् । पत्रकार र स्थानीयहरुले गुनासो गरिहालेको खण्डमा दमक प्रहरीले देखावटी रुपमा होटलमा छापा मार्ने गरेको छ । प्रहरीसंग सेटिङ रहेकाले यौन व्यवसायका लागि डर नहुने होटल साइनोकी एक यौनकर्मी युवतीले बताइन् । प्रहरीले छापा मार्नुअघि नै आफूहरुलाई जानकारी गराउने गरिएको ती युवतीले बताइन् । केही दिनअघि प्रहरीले साइनो होटलमा छापा मार्ने कुरा थाहा पाएर अलर्ट भएका युवतीहरु प्रहरी टोली आएपछि पछाडिको ढोकाबाट भागेका थिए । प्रहरीसंग लाइन मिलाइदिने र हरेक सूचनाहरु दिने काम घुमुवा प्रहरीले गर्ने गरेको बताइन्छ ।

नियन्त्रणको प्रयास गर्छौ– डीएसपी थापा
विगत तीन वर्षदेखि दमक यौन अड्डाको रुपमा फस्टाउँदै गएको हो । प्रहरी प्रशासनको सहयोगमा अवैध यौन व्यवसाय विस्तार हुँदै गएपछि त्यसबाट सामाजिक असर पर्न थालेको छ । स्थानीयले पटकपटक यसबारे प्रहरीसंग गुनासो गरिसकेका छन् । दमकमा यौन व्यवसाय भइरहेको विषयमा आफूलाई जानकारी रहेको दमक प्रहरीका डीएसपी निशान थापाले बताए । विकृतिका रुपमा बढ्दै गएको यस व्यवसायलाई नियन्त्रण गर्ने प्रयास भइरहेको उनले बताए । यसलाई नियन्त्रण गर्ने जिम्मेवारी प्रहरी प्रशासनकै भएकाले अब आफूहरु लागिपर्ने उनको भनाई छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्