झापा , भदौ १० । वाइसीएल नेपाल बिर्तामोड नगरको दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ ।

सेवन दर्नालको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी चयन गर्दै सोमवार सम्मेलन सम्पन्न भएको हो ।
समितिको उपाध्यक्षत्रयमा विकास तामाङ, विजय तामाङ र विक्रम बोहोरा चयन भएका छन् । सचिव बिमल कन्दङवा, सहसचिव नर्बदा कार्की र कोषाध्यक्षमा सन्ध्या मास्के चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्र कोशी अध्यक्ष हर्कबहादुर नेम्बाङ (मिक्सो)ले युवाहरुको समृद्ध भविष्य निर्माण सबैको चाहना भएको बताए । ‘विदेशिने, अर्काको देशमा गएर चर्को घाममा काम गर्ने चाहना कसैको हुँदैन,’ उनले भने, ‘मुलुकमै कलकारखाना निर्माण गरी उद्योग खोली युवाहरुलाई स्वदेशमै रोजगार बनाउन र समृद्ध मुलुक निर्माण गर्न हामी चाहन्छौं ।’ उनले नेपालीको सपनालाई साकार पार्नेतर्फ सरकारले ध्यान नदिएको गुनासो गरे । जनताको हक अधिकारको लागि लड्ने एकमात्र पार्टी माओवादी केन्द्र भएको बताउँदै वाईसीएलमा आवद्ध युवाहरूलाई त्यसतर्फ सक्रिय हुन उनले आग्रह गरे । ‘मुलुक बनाउन युवाहरुले कम्मर कस्नु पर्छ, उनले भने, ‘१० वर्ष लडेर ल्याएको यो व्यवस्थालाई सुन्दर फूलबारी बनाउने जिम्मा हामी युवाहरुलाई दिन चाहन्छौं ।’

कार्यक्रममा १५ जना युवाहरु पार्टी प्रवेश गरेका थिए । उनीहरूलाई प्रमुख अतिथि मिक्सो, केन्द्रीय सदस्य हरि राना, जिल्ला संयोजक राजु आचार्य (अग्नी) लगायतले अविर लगाइदिएर पार्टीमा स्वागत गरेका थिए ।
कार्यक्रममा सहभागीहरुलाई वाईसीएलका बिर्तामोड इन्चार्ज एलेक्स दाहाल (विकल)ले स्वागत गरेका थिए ।

नवनिर्वाचित समितिलाई अखिल क्रान्तिकारी झापा अध्यक्ष रञ्जन धमला, माओवादी केन्द्र बिर्तामोड अध्यक्ष मोहन सुब्बा, वाईसीएलका प्रदेश अध्यक्ष कुमार आचार्य, केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज कर्मा पुलामी, पार्टीका केन्द्रीय सदस्य हरि रानालगायतले शुभकामना दिएका थिए ।

वाइसीएल नेपालले यसअघि बुद्धशान्तिमा गाउँ कमिटी गठन गरिसकेको र झापाका बाँकी १३ पालिकामा चाँडै समिति चयन गरिने झापा अध्यक्ष शाहीले जानकारी दिए । सबै पालिकामा संगठन विस्तारपश्चात् समाजमा रहेका भ्रष्टाचार, अनियमितताको निगरानी गरी खबरदारी गर्ने र लागू औषध दुर्व्यसनी न्यूनीकरणका लागि काम गर्ने उनले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्यहरू सीपी कडरिया, भूपाल सापकोटा, अरुण श्रेष्ठ, वाइसीएल झापा अध्यक्ष डेबिट शाही ठकुरीलगायत उपस्थित थिए । कार्यक्रम माओवादी बिर्तामोड नगर सचिव गणेश कालिकोटे (सौगात)ले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्