लक्ष्मी उप्रेती,

मेचीनगर । पूर्वी तराईमा बसोबास गर्ने आदिबासी समुदायका राजवंशी, गन्गाई, ताजपुरियालगायतका जातिले मनाउँदै आएको धार्मिक साँस्कृतिक पर्व हो दधिकाद । भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा भोलिपल्ट नवमीका दिन हिलो खेलेर यो खेलपर्व मनाउने परम्परा रहिआएको छ ।

झापा, मोरङ र सुनसरी जिल्लाका आदिबासी समुदायले कृष्ण जन्माष्टमीको भोलिपल्ट दधिकाद पर्व मनाउँछन् । दधिकाद खेल खेलाउँदा आफ्नो मनले चाहेको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । भगवान कृष्णले दही चोरेर खाएको र दहीको हिलोमा खेलेको स्मरण गर्दै माटोको हिलोमा दही चढाएर त्यसमा खेल्ने गरिन्छ ।

राजवंशी जातिले कृष्ण मन्दिरहरूमा कृष्ण अष्टमीका दिन रातभर भजन कीर्तन गरी जाग्राम बसेर त्यसको भोलिपल्ट दधिकाद पर्वको अवसरमा विविध कार्यक्रम आयोजना गर्ने गर्दछन् ।

तेल दलेको चिल्लो बाँसमाथि चढेर पुरस्कार जित्ने, हिलोमा नरिवल खोसाखोस गर्ने , मन्दिरमा नरिवल चढाउने , हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायत एक आपसमा हिलो दलादल गरेर यो पर्व रमाइलो गरी मनाउने गरिएको झापाका अग्रज सञ्चारकर्मी इन्द्रसिंह राजवंशीको भनाई छ ।

खासगरी दधिकाद भनेको दहीको हिलो भनेपनि दही नपाएका कारण माटोको हिलो बनाई एक अर्कामा छ्याप्दै रमाउने गरिन्छ । त्यही हिलोमा एउटा नरिवल राखिन्छ । दुईवटा समूह बनाइएको हुन्छ । एउटा समूह कृष्ण मन्दिरमा नरिवल चढाउन जान्छ भने अर्को समूहले रोक्ने गर्दछ । नरिवल चढाउने सामूहिक प्रतिष्पर्धामा जित्ने समूहलाई विजेता घोषणा गरिन्छ ।त्यस्तै बाँस चढ्ने प्रतियोगितामा तेल दलेको चिल्लो बाँसको टुप्पोमा पुरस्कारको पोको बाँधिएको हुन्छ । बाँसको टुप्पोसम्म पुग्ने खेलाडीलाई विजेता घोषणा गरी पोकोमा बाँधिएको पुरस्कार प्रदान गरिन्छ ।

दधिकाद पर्वलाई राजवंशी जातिले आफ्नो पहिचान बोकेको मौलिक पर्वका रुपमा लिने गरेका छन् । राजवंशी जातिका मानिसहरुले हरेक वर्ष कृष्णाष्टमीको भोलिपल्ट नवमीका दिन धुमधामसँग दधिकाद पर्व मनाउने गरेको मेचीनगरका हिरामोहन राजवंशी बताउँछन् ।

भगवान श्रीकृष्णको जन्म भएको खुशीयालीमा नवमीका दिन राजवंशी समुदायले एक–अर्कामा खुशी साटासाट गरी मनाउने दधिकादको निकै रौनक हुन्छ ।

दधिकाद पर्व राजवंशी समुदायको बसोबास रहेको क्षेत्रमा धुमधामले मनाइने गरिएको मोतीलाल राजवंशी बताउँछन् । तर, अहिले यो पर्व लोप हुने अवस्थामा पुग्न लागेको भन्दैं राजवंशी अगुवाहरुले चिन्ता व्यक्त गरेका छन् । केही वर्ष अघिसम्म हेर्नेहरुको भीड थामी नसक्नु हुन्थ्यो । तर, अहिले दधिकादको रौनक देखिन छाडेको उनीहरुको भनाई छ ।

मेचीनगरमा सक्रिय युवाको पहलमा अहिलेसम्म जसोतसो यो पर्वले निरन्तरता पाइरहेको हिरामोहन राजवंशी बताउँछन् । स्थानीय युवा शिवलाल राजवंशी अन्य समुदायको बाहुल्य र नयाँ पिढी आधुनिकतामा रमाउन थालेपछि आफूहरुको संस्कृति लोप हुन लागेकोप्रति चिन्ता व्यक्त गर्छन् ।

राजवंशी समुदायका धेरै युवा विदेशिएकाले पर्वको उल्लास हराएको धाइजनका हरेकृष्ण राजवंशी बताउँछन् । उनले भने, ‘गरिबीकै कारण यो पर्व हराउने अवस्थामा पुगेको हो ।’

मौलिक संस्कृति झल्काउने दधिकाद खेल पर्व संरक्षण गर्न स्थानीयस्तरबाटै पहल गरिनु पर्ने र अन्य पर्वजस्तै प्रचार प्रसार गर्नुपर्नेमा राजवंशी समाज विकास समिति झापाको जोड रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्