झापा, भदौ ११ । नेपाली सेनाको वार्षिक कार्यक्रमअन्तर्गत राष्ट्रिय सेवा दल (एनसीसी) को एक सय दिने प्रशिक्षणको इष्ट पोइन्ट इंग्लिस स्कूल भद्रपुर–४ मा अनुगमन गरिएको छ ।

किशोर अवस्थाका विद्यार्थीलाई तिनको शारीरिक तन्दुरुस्तीसँगै मानसिक विकासका लागि त्यस्तो अतिरिक्त क्रियाकलापसम्बन्धी तालिम दिइने गरेको प्रमुख अतिथि सहायक रथी युवधिरमानसिंह अधिकारीले प्रशिक्षणका सहभागी क्यारेटहरुलाई सम्बोधनका क्रममा बताए ।
उनले भने, ‘राष्ट्रलाई केन्द्रमा राखेर हामी नेपालीले अघि बढ्नुपर्छ । यो देशका कर्णधार आजका विद्यार्थी नै भएकाले अहिलेदेखि असल नागरिक बन्ने अभ्यास गरेर भोलि देशको सेवा गर्नेगरी पाइला चाल्नुपर्छ ।’
राष्ट्रिय सेवा दलको यस्तो प्रशिक्षण कार्यक्रमका लागि यस वर्ष झापा जिल्लाका आठ वटा विद्यालय छनोटमा पर्दा झापाको ३ नम्बर क्षेत्रबाट इष्ट पोइन्ट इंग्लिस स्कूल मात्र परेको हो ।
स्कूलका सञ्चालक राजेन्द्र घिमिरेका अनुसार यो कवाज प्रशिक्षण सय दिने हो । गत असार १५ गतेदेखि शुरु भएको प्रशिक्षणमा कक्षा–८ र ९ का १४ वर्षदेखि १६ वर्ष उमेर समूहका १८ छात्र र १८ छात्रा सहभागी छन् ।
सञ्चालक घिमिरेले भने, ‘यो तालिमले विद्यार्थीहरुलाई शारीरिक र मानसिक रुपमा सबल बन्न मद्दत गर्ने छ भने उनीहरुमा आत्मविश्वास बढाउनुका साथै दुर्व्यसन र खराब संगतबाट टाढा राख्न उत्प्रेरणा समेत जगाउने छ ।’
अब सैद्धान्तिक र प्रयोगात्मक तालिममा सहभागी विद्यार्थीहरुलाई विद्यालयमा तालिम दिइने छ ।त्यसपछि अन्तिम २० दिन सेनाको क्याम्पमा लगेर समापन चरणको तालिम दिइएपछि पास आउट हुने बताइएको छ ।
विद्यालय परिसरमा सेनाद्वारा गरिएको अनुगमनका क्रममा सहभागी प्रशिक्षार्थीहरुले आकर्षक कवाज प्रस्तुत गरेका थिए । अनुगमनका क्रममा प्रमुख सेनानी प्राजु बस्न्यात र सहसेनानी चन्दा बानियाँसमेत सहभागी थिए ।