धुलावारी, भदौ १२ । झापा मेचीनगर–९ को थोप्लेविरान महिला कृषि सहकारी संस्था लि. ले विभिन्न विधामा उत्कृष्ट तीनजनालाई बुधवार सम्मान गरेको छ ।

संस्थाको दशौ वार्षिक साधारण सभाको अवसर पारेर उत्कृष्ट ऋणीतर्फ मनमाया लिम्बू, उत्कृष्ट बृद्धा बचतकर्तातर्फ रीता सुन्दास र उत्कृष्ट बाल बचतकर्ता उपासना आचार्यलाई सम्मानसहित पुरस्कृत गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिकाका उपप्रमुख मीना पोखरेल उप्रेती, विशिष्ट अतिथि थोप्लेविरान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्ण कोइराला, नेकपा माओवादी केन्द्रका नेता प्रकाश भण्डारी, थोप्लेविरान सामुदायिक वनका पूर्व अध्यक्ष इन्द्र पाठक, संस्थाका उपाध्यक्ष जानुका ओली न्यौपानेलगायतले उनीहरुलाई सम्मानपत्रसहित नगद प्रदान गरेका थिए ।

२०५९ साल साउन १० गतेबाट थोप्लेविरान समूहको नामबाट शुभारम्भ भएको यस संस्था २०७१ साल मंसिर १० गतेबाट विधिवतरुपमा थोप्लेविरान महिला कृषि सहकारी संस्थाको रुपमा संचालित छ । संस्थामा दशवटा कृषक समूह आवद्ध छन् । संस्थाका अध्यक्ष डम्बरकुमारी प्रधानले उद्घाटन सत्रको अध्यक्षता गर्दै सञ्चालक समितिका तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् । गत आवमा संस्थाले दुईलाख ५० हजार रुपैयाँ नाफा कमाएको छ । दुईलाख ३२ हजार पाँचसय रुपैयाँ शेयर पूँजीबाट शुरु भएको संस्थामा हाल २८ लाख १२ हजार चारसय २० रुपैयाँ पुगेको छ ।

एक करोड ७५ लाख २५ हजार रुपैयाँभन्दा बढी निक्षेप संकलन तथा दुई करोड सात लाख पाँचहजार सात सय ६१ रुपैयाँ कर्जा प्रवाह भएको प्रतिवेदनमा उल्लेख छ । संस्थाका सदस्यहरुबाट शुरुमा मासिक १५, ३० र ५० रुपैयाँ बचत गरी एकव्यक्ति बराबर तीनहजार बचत जम्मा भएपछि शेयरमा परिणत गरिएको प्रतिवेदनमा उल्लेख छ । २०७४ साउनदेखि एकसय र २०७८÷२०७९ मा दुईसय रुपैयाँका दरले बचत संकलन गरी जम्मा भएको शेयर सदस्यहरुलाई आर्थिक स्तरको आधारमा विपन्न शेयर सदस्यहरुलाई पहिलो प्राथमिकतामा राखेर सम्बन्धित समूहको सिफारिसमा कर्जा उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

हाल संस्थामा चारसय जना शेयर सदस्य छन् । संस्थाले यस आर्थिक वर्षबाट शेयर सदस्यहरूलाई दुईलाख रुपैयाँसम्म कर्जा दिने र साविकको मेचीनगर–४, ५ र ६ हाल वडा नम्बर ९ का जनतालाई समेट्ने गरी दायरा फराकिलो पार्ने निर्णय गरेको छ । संस्थाले यस वर्षदेखि नगरपालिकासँगको सहकार्यमा सजिना खेतीसमेत गर्ने तयारी गरेको छ ।

संस्थाले विभिन्न विज्ञहरूसँग समन्वय र सहकार्य गरेर यहाँका किसानहरूलाई अर्गानिक मल बनाउन, माटो बचाउ अभियानलगायतका विषयमा तालिम तथा छलफल गर्दै आएको छ । कार्यक्रमको उद्घाटन सत्रमा बोल्दैं प्रमुख अतिथि नगर उपप्रमुख उपे्रतीले अब महिलाहरुले दुई ÷चार पैसाका लागि कसैको मुख ताक्न नहुने र महिला परनिर्भर नभई आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् ।

सचिव तारा पौडेल सञ्चालन गरेको उद्घाटन सत्रमा सहभागी सवैलाई उपाध्यक्ष जानुका ओलीले शब्दमार्फत स्वागतसहित बार्षिक कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।कार्यक्रममा लेखा प्रतिवेदन संयोजक इश्वरा चौलागाईले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा मेचीनगर–९ की वडा सदस्य सुष्मा डोली कार्की, नेकपा माओवादी केन्द्रका नेता प्रकाश भण्डारी, थोप्लेविरान सामुदायिक वनका पूर्व अध्यक्ष इन्द्र पाठक, थोप्लेविरान महिला कृषि सहकारीकी संस्थापक अध्यक्ष बिना चापागाई, पूर्व अध्यक्ष मञ्जु कट्टेललगायतको उपस्थिति रहेको थियो । सोही अवसरमा नेपालीहरूको महान पर्व हरितालिका तीजको दर खाएर महिलाहरूले छमछम नाचेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्