बिर्तामोड, भदौ १३ । पटकपटक म्याद थप्दासमेत काठमाडौको कन्टेक प्रालिले पूरा गर्न नसकेको बिर्तामोड–चन्द्रगढी सडक निर्माण गर्ने जिम्मेवारी बिर्तामोड २ को कंचन निर्माण सेवाले पाएको छ ।

केदार गिरी प्रोप्राइटर रहेको कंचन निर्माण सेवाले जिम्मेवारी पाएपछि अब सडक निर्माणले तीब्रता पाउने विश्वास पलाएको बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीले बताए । कन्टेक प्रालिले २०७७ माघ ६ गते ठेक्का संझौता गरेको थियो । पाएको अवधिभित्र सम्पन्न गर्न नसकेपछि पटकपटक म्याद थप गरिएको थियो । म्याद थप्दासमेत कन्टेकले निर्माण सम्पन्न नगरेपछि स्थानीयले पटकपटक चक्काजाम गर्दै आन्दोलनसमेत गरेका थिए । तर पनि कन्टेकले वास्ता नगरेपछि कंचन निर्माण सेवालाई जिम्मेवारी दिइएको हो ।

हालसम्म कन्टेक प्रालिले ३८ प्रतिशत मात्र काम गरेको बताउँदै कंचन निर्माण सेवाका प्रोप्राइटर गिरीले बाँकी काम आफ्नो कम्पनीले गर्ने जानकारी दिए । उनले आजैदेखि सडक निर्माणको काम थालिसकेको जानकारी दिए । ‘ पाँच करोड रुपैयाँ निकासा भएको छ त्यस बजेटबाट दशैअगाडि देउनियादेखि धौला पुलसम्मको अधुरा काम पूरा हुन्छ ’ उनले भने, ‘ यदि समयमै पैसा निकासा भयो भने असारसम्म चन्द्रगढीसम्मको काम सकिन्छ ।’

यसअघि बिर्तामोडको मुक्तिचोकदेखि गरामनीको धौला पुलसम्मको सडक पनि कंचन निर्माण सेवाले नै पूरा गरेको थियो । ठेक्का लिएका राजकिशोर गुप्ताले अलपत्र छोडेपछि गिरीले नै सो सडकखण्ड पूरा गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्