अर्जुनधारा, भदौ १३ । अर्जुनधाराको लंका होटल सञ्चालकले ‘बलात्कार मुद्दामा लंका होटलका सञ्चालक राजवंशी पक्राउ’ भनेर गरिएको प्रचारप्रति आपत्ति जनाएका छन् ।


सञ्चालकमध्येका एकजना गोपाल पोखरेलले बिज्ञप्ति जारी गरेर अर्कै व्यक्तिलाई बलात्कारजस्तो जघन्य अपराधमा पक्राउ गरेर होटल सञ्चालक भन्दै प्रचार गरिनु दुःखद भएको बताएका छन् । उनले बिभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारमा उल्लेख भएको सुनिल राजवंशी (लंका राजवंशी) भनिएको व्यक्तिलाई होटल व्यवस्थापनले नचिनेको बताएका छन् ।

होटलसँग असम्बन्धित व्यक्तिलाई होटलको सञ्चालक भन्दै प्रचार गरिएकोमा आपत्ति प्रकट गर्दै पोखरेलले स्थापनादेखि नै लंका होटलको सञ्चालक आफू भएको स्पष्ट पारेका छन् । उनले गलत प्रचारले समाजमा भ्रम उत्पन्न गराएको भन्दै त्यस्ता भ्रमपूर्ण समाचारको बिश्वास नगर्न सार्वजनिक अपिल गरेका छन् ।

भदौ ७ गते अर्जुनधारा–५ की एक युवतीलाई सोही स्थानका ७ जना युवाले जबरजस्ती करणी गरेका थिए । घटनामा संलग्नमध्येका ६ जना पक्राउ परेका छन् । एकजना अझै फरार छन् । प्रहरीले उनको खोजतलास गरिरहेको जनाएको छ ।
विज्ञप्तिमा पीडितलाई न्याय र पीडकलाई कडाभन्दा कडा सजाय दिन अनुरोध गरिएको छ । अर्जुनधारा क्षेत्रमा बढिरहेको चोरी, डकैती, लागूऔषध कारोबार तथा यौन हिंसाका घटना न्यूनीकरणका लागि होटल व्यवस्थापनले प्रशासनसँग हातमा हात मिलाएर अघि बढ्न तयार रहेको जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्