झापा, भदौ १३ । जंगली जनावरको चोरीसिकारमा संलग्न पूर्वडीआइजी र बहालवाला सईसहित १० जनालाई सप्तरी प्रहरीले गएराति नियन्त्रणमा लिएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेज क्षेत्रबाट अवैध रूपमा बँदेल मारेर ल्याउँदै गर्दा प्रहरीले हतियारसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका–२ घर भएका नेपाल प्रहरीका पूर्वडीआईजी ज्ञानविक्रम शाह र विराटनगर ३ घर भएका नेपाल प्रहरीका बहालवाला सई सञ्जय न्यौपाने रहेको सप्तरी प्रहरी स्रोतले जानकारी दिएको छ ।
यस्तै हनुमाननगर कंकालिनी नगरपालिका ८ घर भएका पूर्व उपसभामुख गंगाप्रसाद यादवका छोरा आकाश बहरखेर यादव, तिरहुत–२ का लक्ष्मण मण्डल, हनुमाननगर कंकालिनी २ का जनार्दन राउत, इटहरी २ का प्रदीप लिम्बू, राजविराज ७ का रविन दासलाई समेत पक्राउ गरिएको छ ।

यसैगरी हनुमाननगर कंकालनी नगरपालिका–५ का ओमशंकर प्रसैला, वडा नं १ का लक्ष्मण मण्डल, वडा नम्बर ३ का शंकर खिडहरी यादवलाई पनि पक्राउ गरिएको छ ।

प्रहरीले उनीहरुको साथवाट २२ क्यालीबरको राइफल एकवटा, म्यागजिन दुई, १५ राउण्ड गोली, तीनवटा वाइनाकुलर, ट्राइपोर्ट एक, फलामको हथौडा एक, खुर्पा एक पनि बरामद गरेको छ ।

यस्तै मारिएको बँदेल लोड गरिएको को २ त ६९ नम्बरको ट्रयाक्टर र प्र ३ – ०१– ०२२ च ६८५५ नम्बरको स्कोरपियोसमेत नियन्त्रणमा लिएको छ । सप्तरी प्रहरीका प्रवक्ता डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्