झापा, भदौ १३ । पाँचथरको फालेलुङ ५ मा विष्फोटक पदार्थ पड्किँदा चार जना बालबालिका घाइते भएका छन् ।

आज दिउँसो ३ बजे फालेलुङ ५ डाँडागाउँ बस्ने आइतराज केरूङको ढुङ्गा माटोले बनेको टिनको छानो भएको २ तले घरमा हाल ज्ञानबहादुर राईको परिवार बस्दै आइरहेकोमा उनका छोरा १३ वर्षीय पवन राई, सोही ठाउँ बस्ने दिलिप साँवाका छोरा ११ वर्षीय दिप्सन साँवा र उनकी छोरी २ वर्षीया प्रिन्सा साँवा भेला भई आँगनमा खेलिरहेको अवस्थामा विष्फोट भएको थियो । अचानक ठुलो आवाजमा पड्किएपछि सोही ठाउँ बस्ने १७ वर्षीया सोमा केरूङले गएर हेर्दा तीनै जना जलेर घाइते भएका थिए । त्यस्तै त्यही खेलिरहेका सोही ठाउँ बस्ने दिपक राईका छोरा ७ वर्षीय दिप्सन राईसमेत घाइते भएका छन् । घट्ना घट्नेबितिकै उनी आफ्नो घरतर्फ गएका थिए ।

प्रहरी चौकी प्राङबुङमा घटनाको जानकारी प्राप्त हुनसाथ प्रहरी टोली खटिएर घाइतेहरुलाई उपचारको लागि स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा पठाएको थियो । दिप्सन र प्रिन्सा साँवाको अवस्था गम्भीर रहेको छ । पवन राईको अवस्था सामान्य रहेको छ ।

उनीहरुलाई थप उपचारको लागि जिल्ला अस्पताल फिदिम ल्याइएको थियो । घाइते दिप्सन राईलाई उपचारको लागि घरपरिवारले स्वास्थ्य चौकी प्राङबुङमा लिएर गएका थिए । सामान्य उपचारपश्चात् उनलाई डिस्चार्ज गरिएको छ । गंभीर अवस्थाका प्रिन्सा साँवा र दिप्सन साँवालाई बिर्तामोडको बीएण्डसी अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्