भद्रपुर, भदौ १३ । झापाको भद्रपुरमा कोशी प्रदेशस्तरीय पुरुष खुला तथा भेट्रान्स ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ ।

यही भदौ २९ देखि ३१ गतेसम्म भद्रपुरको मेची रंगशालामा रहेको कभर्ड हलमा हुने प्रतियोगिता दुई इभेन्टमा सञ्चालन हुनेछ ।

आयोजक झापा जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष दिपेश ढकालका अनुसार प्रतियोगिता पुरुष डबल्स र भेट्रान्स डबल्स गरी दुई विधामा सञ्चालन हुनेछ ।

प्रतियोगितामा नेपालका उत्कृष्ट १६ र्याङ्किङ खेलाडीले भने भाग लिन पाउने छैनन् । भेट्रान्स विधामा भने ४५ वर्ष उमेरमाथिका खेलाडीले मात्र सहभागिता जनाउन पाउने छन् ।

प्रतियोगिताका खुलातर्फका विजेताले नगद ५० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने संघका अध्यक्ष ढकालले जानकारी दिए । त्यस्तै, दोस्रो हुनेले नगद ३० हजार र तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने छन् ।

भेट्रान्सतर्फका विजेताले नगद ४० हजार रुपैयाँ, ट्रफी र मेडल पाउँदा दोस्रो हुनेले नगद ३० हजार रुपैयाँ, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १० हजार रुपैयाँ, ट्रफी र मेडल पाउने छन् ।
पहिलोपटक हुन लागेको प्रतियोगितालाई सलोनी टि कपले प्रायोजन गरेको अध्यक्ष ढकालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्