झापा, भदौ १४ । आफ्नै अपार्टमेन्टको बेडमा गोली लागेर मृत अवस्थामा फेला परेकी २१ वर्षिया मुना पाण्डेको हत्या आरोपमा ५१ वर्षका बबी सिंह शाह पक्राउ परेका छन्।

सोमबार (अगस्त २६) लगभग साँझ ५ः३५ बजे वेस्ट एयरपोर्ट बुलेवार्डको एक अपार्टमेन्टमा उनको शव फेला परेको थियो।
घटनाको अनुसन्धानको क्रममा सोही अपार्टमेन्टबाट शङ्कास्पद अवस्थामा बाहिरिँदै गरेका एक व्यक्तिको फुटेज प्रहरीले सार्वजनिक गर्यो। त्यसैको आधारमा बबी सिंह पक्राउ परेका हुन्।
उनी अमेरिकाको समय अनुसार बुधवार साँझ उत्तर–पश्चिम ह्युस्टनमा एक ट्राफिक जाँचको क्रममा फेला परेका थिए।मृतकसँग सिंहको सम्बन्ध र हत्याको कारणबारे अझै खुलेको छैन। उनी कहाँका हुन् समेत सार्वजनिक भएको छैन।

मृतक पाण्डे भने नेपालको भोजपुरको रहेको र सन् २०२१ मा अमेरिका गएको खुलेको छ। इटहरीको कोशी कलेजमा अध्ययन सकाएर उनी विद्यार्थी भिसामा अमेरिका गएको खुलेको छ। उनी एकल आमाको हेरचाहमा हुर्किएकी थिइन् भने उनी एक्लो सन्तान थिइन्। अमेरिकाको एक कलेजमा उनले नर्सिङ विषयमा ब्याचलर्स अध्ययन गरिरहेकी थिइन्।
दुई दिनदेखि मुनाको फोन बन्द थियो। उनी बस्ने अपार्टमेन्टका कर्मचारीलाई अज्ञात स्रोतबाट मुनाको हत्या भएको सूचना आएको थियो। कर्मचारीले प्रहरीलाई जानकारी गराए।प्रहरी अपार्टमेन्टमा जाँदा मुना बेडमा अचेत थिइन्। चिकित्सक टोली आएर परीक्षण गरेपछि मृत घोषणा गर्यो।