बिर्तामोड, भदौ १४ । झापाको बिर्तामोडमा पहिलो सामुदायिक पुस्तकालयको रुपमा बिर्तामोड पब्लिक लाइब्रेरीको उद्घाटन भएको छ ।

बिर्तामोड पश्चिम बसस्ट्यान्ड दक्षिण रिभर साइडको कार्यालयसँगै सञ्चालनमा आएको पुस्तकालयको बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले आज उद्घाटन गरेका हुन् ।
मिसन बिर्तामोडको अगुवाईमा सञ्चालनमा आएको पुस्तकालयको उद्घाटन पुस्तकालयको स्थापनमा संयोजनकारी भूमिका खेलेका माधवकुमार झाको जन्मदिनको अवसरमा गरिएको हो ।

कार्यक्रममा उपप्रमुख संग्रौलाले हरेक नगरबासीलाई आफ्नो जन्मदिनको दिन एक–एकवटा पुस्तक लाइब्रेरीलाई उपहारस्वरुप प्रदान गर्न आग्रह गरे । उनले पुस्तकालयलाई नगरपालिकाले सहयोग गर्ने पनि प्रतिबद्धता जनाए ।


पुस्तकालय उद्घाटन कार्यक्रममा युनाइटेड रिभर साइड युवा फाउन्डेसनका अध्यक्ष ओमबहादुर खड्काले पुस्तकालयका लागि कोठा उपलब्ध गराउन पाउँदा खुसी लागेको बताए ।

पुस्तकालयका संयोजक झाले हाल दाताबाट प्राप्त करिब चार लाख रुपैयाँबराबरको विभिन्न विधाका पुस्तकहरु रहेको जानकारी दिए । उनले हाल करिव ४ हजार वटा किताव रहेको बताउँदै पुस्तकालयमा १० हजार किताब पुर्याउने योजना रहेको सुनाए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्