झापा, भदौ १४ । करुणा फाउन्डेशनको कार्यक्रमले झापाका अपाङ्गता भएका व्यक्तिहरुमा विभाजन ल्याएको छ ।

कोही खारेज गर्नुपर्ने र कोही खारेज गर्न नदिने पक्षमा उभिएका छन् । करिव एक साताअघि अपाङ्गता भएका झापाका केही व्यक्तिहरुले कोशी प्रदेश सरकार, स्थानीय तह र करुणा फाउण्डेशनको साझेदारीमा सञ्चालन भइरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम खारेज गर्नुपर्ने माग गरेका थिए । उनीहरुले उक्त कार्यक्रमले अपाङ्गताको निमित्त काम गर्न नसक्ने दावी गरेका थिए । बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै उनीहरुले करुणा फाउण्डेशनले सञ्चालन गरिरहेको कार्यक्रमबाट अपाङ्गता भएका व्यक्तिहरुको नाममा सपांगले फाइदा उठाउने आरोप लगाएका थिए । अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रममा कर्मचारी नियुक्तिदेखि नै अपाङ्गता भएका व्यक्तिहरुमाथि अन्याय भएको दुखेसो पोखेका थिए । कर्मचारी नियुक्तिमा अपाङ्गता भएका व्यक्तिहरुलाई अनिवार्य आरक्षण दिनुको साटो रोक्ने नियत देखिएको उनीहरुको आरोप थियो ।

तर, अपाङ्गता भएका केही व्यक्तिहरुले शुक्रवार पत्रकार सम्मेलन गरी कुनै पनि हालतमा करुणा फाउन्डेशनको कार्यक्रम खारेज हुन नदिने दावी गरेका छन् । उनीहरुले समस्याको समाधान कार्यक्रमको खारेजी होइन, सिविआरएफ छनौट मार्गदर्शन संशोधन हो भन्दै मार्गदर्शन सच्याउन माग गरेका छन् । बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थामा पत्रकार सम्मेलन गरी उनीहरुले हाल सिबिआरएफ छनौट सम्बन्धी मार्गदर्शनबाट छनौट भइआएका सिविआरएफलाई आफ्नो कार्यक्षेत्रमा आ–आफ्नो जिम्मेवारीअनुसार काम गर्ने वातावरण सिर्जना गर्न गराउन स्थानीय तह र सम्बन्धित सबै सरोकारवालाहरुलाई आग्रह गरेका छन् । साथै यो अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई सफल पार्नका लागि सहयोग गर्न सम्पूर्ण सरोकारवाला पक्षलाई अपिल गरेका छन् ।

कार्यक्रममा बिर्तामोड अपाङ्गता स्वाबलम्बन संस्थाका अध्यक्ष दीपक थापा , समाजसेवा सुधार युवा संघ अपाङ्ग सहयोग समितिका उपाध्यक्ष गंगाप्रसाद संग्रौला , कमल अपाङ्ग समितिका पिताम्बर खड्का , कन्काई अपांगता समावेशी संस्थाका कोषाध्यक्ष सृजना बराल ,झापा नेत्रहीन संघका अध्यक्ष होमनाथ राजवंशी ,ग्रामीण अपाङ्गता पुनस्र्थापना समितिका अध्यक्ष चन्द्रप्रकाश लिम्बू , हल्दीवारी अपांगता उत्थान संघका सदस्य सुमित्रा गिरी ,शान्ति अपांग संघका सचिव कृष्ण रिजालको उपस्थिति रहेको थियो ।

कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउन्डेशनको संयुक्त लगानीमा कार्यक्रम सञ्चालन भइरहेको छ । कार्यक्रममार्फत अपाङ्गता भएका नागरिकलाई सम्मानपूर्वक बाँच्न सक्ने वातावरण सिर्जना गर्ने, आत्मनिर्भर बनाउने, अपांग शिशु जन्म हुन नदिने, अपाङ्गमैत्री वातावरण निर्माणलगायतका कार्य गर्ने जनाइएको छ । झापाको १५ वटै पालिकामा कार्यक्रम सम्झौता भइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्