दमक, भदौ १५ । नेपालमा हस्तक्षेपकारी अमेरिकी चलखेल बढेको भन्दै त्यसविरुद्ध विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी झापाले दमकमा विरोध प्रदर्शन गरेको छ।

आज दमकमा नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ता तथा स्थानीयको उपस्थितिमा विरोध प्रदर्शन गरिएको हो ।

पछिल्लो समय अमेरिकाले विश्वका विभिन्न देशहरुमा युद्ध चर्काएर अस्थिरता , अशान्ति मच्चाउँदै हतियारको ब्यापार चलाएको र नेपालमाथि पनि अमेरिकाले विभिन्न परियोजनामार्फत हस्तक्षेप बढाएको नेकपाले आरोप लगाएको छ।

नेपालको सदनबाट एमसीसी पारित गरिएसँगै अहिले अमेरिकाले नेपालमा हतियार भित्र्याउन थालिसकेको र सैन्य गतिविधि बढाउन एसपीपी( स्टेट पार्टनरसिप प्रोग्राम ) लागु गर्न लागेको भन्दै नेकपाले विरोध प्रदर्शन गरेको जनाएको छ ।

गोर्खा डिपार्टमेन्ट नजिकैबाट शुरु भएको विरोध र्यालीमा अमेरिकी हस्तक्षेपविरुद्ध विभिन्न नाराबाजी गरिएको थियो भने र्याली दमक चोकमा पुगेर कोणसभामा परिणत भएको थियोे ।

कोणसभालाई पार्टीका केन्द्रीय सदस्य तथा झापा जिल्ला इन्चार्ज सुमनसिंह सीले सम्बोधन गरेका थिए। उनले अहिले केपी ओलीको सरकार एमसीसी कार्यान्वयन र एसपीपी पारित गर्न षड्यन्त्र गरिरहेको दावी गर्दै कुनै पनि हालतमा उक्त कार्य हुन नदिने चेतावनी दिएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्