झापा,भदौ १५ । साझा संस्थाको भवनमा रहेको अस्थायी प्रहरी चौकीलाई गरामनीका बासिन्दाहरुले कुनै पनि हालतमा सार्न नदिने भएका छन् ।

प्रहरी चौकी

गरामनीको बीच बजारमा २० औं वर्षदेखि साझा संस्थाको भवनमा रहेको प्रहरी चौकीलाई जनप्रतिनिधिसहितको आम भेलाले सार्न नदिने निर्णय गरेको हो । बिर्तामोड ८ को गरामनी बजारमा रहेको अस्थायी प्रहरी चौकीलाई अन्यत्र सार्ने कुरा सुनिएकोमा सार्ने भनिएको जग्गा प्रहरी चौकीको लागि अनुपयुक्त भएको हुँदा हालसम्म रहेको साविक स्थानमै व्यवस्थापन गर्ने गराउने भेलाले निर्णय गरेको छ ।

आम भेला

बिर्तामोड ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाईको संयोजकत्वमा भएको भेलामा वडा नं ८ का वडाध्यक्ष अजय कार्की , पार्टी प्रतिनिधिमा नेपाली कांग्रेसका उत्तम कटुवाल , नेकपा माओवादी केन्द्रका मोहन सुब्बा , तेजराज विमली , राप्रपाका नवराज भट्टराई ,कुमार दर्नाल ,नेकपा एमालेका केशव कार्की, स्थानीयहरु मदन प्रसाई , जीवन भण्डारी , अस्लाम खान ,बद्री प्याकुरेल ,रुद्र बराल, पदम बर्देवा , कुमार राई ,गणेश सुवेदी , चिरञ्जीवि कार्की , दुर्गा सुवेदी , सन्तोष रोक्का , जीवन कार्की ,भक्तबहादुर श्रेष्ठ , हरि न्यौपाने , सुरेन राजवंशीलगायतको उपस्थिति रहेको थियो । भेलाका सहभागीहरुले केही व्यक्तिले आफ्नो निजी फाइदाका लागि गरामनी क्याम्पसदेखि उत्तरपट्टि एकान्त ठाउँमा प्रहरी चौकी सार्न लागेको बताएका छन् । उनीहरुले जग्गा , भवनलगायत पर्याप्त पूर्वाधार रहेको साविक ठाउँमै प्रहरी चौकीलाई व्यवस्थापन गर्न छाडेर स्वार्थ समूहले सार्ने षडयन्त्र गरिरहेको ठहर गरेका छन् । गरामनी क्याम्पसदेखि उत्तरपट्टि हरि पाण्डे , नारायणसिंह राजवंशी र विष्णुप्रसाद राजवंशीले जग्गा दिन लागेको र सोही जग्गामा प्रहरी चौकी सार्न लागेको बताइएको छ ।

प्रहरी चौकी सार्ने निर्णय

भदौ १२ गते कोशी प्रदेशका खानेपानी , सिंचाई तथा ऊर्जा मन्त्री एकराज कार्कीको उपस्थितिमा बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक दुर्गा भट्टराई , कार्यपालिका सदस्य लक्ष्मी खतिवडा , स्थानीय हरि पाण्डे , कृष्ण पाण्डे , नारायणसिंह राजवंशी , विष्णुप्रसाद राजवंशी , रणबहादुर मगर , शुक्रसिंह राजवंशी , कुलेश महतो , प्रहरी सहायक निरीक्षक चन्द्रकान्त राय ,नविन शिवाकोटी , प्रमिला राजवंशी , र लालमणि राजवंशीको उपस्थितिमा गरामनी अस्थायी प्रहरी चौकीका लागि जग्गा दान दिने , जग्गा पास गर्ने सम्बन्धमा निर्णय गरिएको थियो । प्रहरी चौकीको लागि हरि पाण्डेले ३० धुर , विष्णुप्रसाद राजवंशीले १५ धुर र नारायणसिंह राजवंशीले १५ धुर जग्गा दिने र सो जग्गा १० दिनभित्र पास गरिदिने निर्णय भएको थियो । यदि आकस्मिक कारणले प्रहरी चौकी निर्माण हुन नसकेमा सो जग्गा सम्बन्धित जग्गाधनीहरुलाई नै फिर्ता गरिदिने निर्णयसमेत भएको छ । करिव २० वर्षदेखि अस्थायी प्रहरी चौकी साझा संस्थाको भवनमा रहेको छ । प्रहरी सहायक निरीक्षकको कमाण्डमा त्यहाँ ६ जना प्रहरी कार्यरत रहेका छन् ।

प्रहरी चौकी सार्न नदिने निर्णय

साझा संस्थाले २०३३ सालमा सो भवन र गोदाम निर्माण गरेको थियो । बेवारिसे बनेको साझा संस्थाको पाँचवटा कोठा प्रहरी चौकीले उपयोग गरिरहेको छ भने गोदाम घर व्यवसायी विष्णु चुडालले प्रयोग गरिरहेका छन् । उनले कसलाई कति भाडा दिने गरेका छन् भनेर कुनै जानकारी छैन । साझा संस्थाको नाममा साढे ४ कठ्ठा जग्गा रहेकोमा एक कठ्ठा जग्गा बिक्री गरेर ऋण तिरेको बताइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्