बिर्तामोड , भदौ १६ । छिमेकीले राम्ररी मोटरसाइकल नचलाउँदा दुर्घटनामा परी इलाम माई नगरपालिका वडा नम्बर ४ गैरीगाउँ बस्ने ३० वर्षीया तुलसा पाँचकोटीले ज्यान गुमाउनु पर्यो ।

हिजो साँझ ५.१० बजे बिर्तामोडको हिकोला अगाडिको राजमार्गमा उनी चढेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई बसले ठक्कर दिएको थियो । मोटरसाइकल चालक तुलसाकै छिमेकी ३६ वर्षीय थिरप्रसाद सुवेदी रहेका थिए । चालक सुवेदीलाई केही पनि भएन तर, तुलसाले घटनास्थलमै ज्यान गुमाउनु पर्यो ।

हिकोला अगाडिको राजमार्गमा बिर्तामोड बसपार्कबाट बिर्तामोड पश्चिम स्टेण्डतर्फ आउँदै गरेको प्र १–०२–००२ ख ००३५ नम्बरको यात्रुबाहक बसले बाटो क्रस गर्दै गरेको प्र १–०१–०१३ प ५७०० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्करपछि मोटरसाइकल लड्न पुगेको थियो । चालक सुवेदी सम्हालेर उठिसक्दा तुलसा भने उठ्न नसकी बसले किचेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । सुवेदी तुलसाका छिमेकी हुन् । तुलसाको कपडा सिलाउने टेलर्स र सुवेदीको कपडा पसल रहेको छ । दुवैजना संगै कपडा किन्न बिर्तामोड आएका थिए । तुलसाका श्रीमान् वैदेशिक रोजगारीका लागि मलेसिया गएका छन् । उनको करिव १० वर्षका छोरा रहेको छिमेकीले बताएका छन् ।

बस र बस चालक कन्काई नगरपालिका वडा नम्बर ३ बस्ने २९ वर्षीय हिमाल बि.क. र मोटरसाइकल चालक सुवेदी समेतलाई नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्