पाँचगाछी, भदौ १६ । आफ्नो जन्मदिन मनाउने मानिसका अनेकौंं इच्छा हुन्छन् । कसैले मन्दिरमा दान तथा आश्रममा आश्रितलाई भोजन गराएर मनाउँछन् त कसैले होटल तथा पाटी प्यालेसमा भव्य कार्यक्रमको आयोजना गर्दै लन्च तथा डिनर दिएर जन्मदिन मनाउने गरेका छन् ।

तर, झापाको शिवसताक्षीमा एक जना समाजसेवीले आफ्नो जन्मदिन स्थानीय सामुदायिक विद्यालयमा कार्यक्रम आयोजना गरेर मनाएका छन् । शिवसताक्षी नगरपालिका वडा नम्बर ७ व्याँङडाँडाकी तुलसादेवी ओलीले ६९ औं जन्मदिन विपन्न अभिभावकलाई खाद्यान्न र तिनका छोराछोरीलाई शैक्षिक सामग्री प्रदान गरेर मनाएकी छन् । उनले वडा नम्बर ४ को त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययन गर्ने २५ जना छात्रछात्रालाई शैक्षिक सामग्री प्रदान गरको विद्यालयले जनाएको छ ।

तुलसाले विगत ३ दशकदेखि वर्षेनि यस्तै कार्यक्रम गरेर जन्मदिन मनाउने गरेकी छन् । उनले भनिन् ‘मानिसलाई जहाँ जे अभाव छ , त्यहाँ सकेको सहयोग गर्नु नै मानिसको पहिलो धर्म हो ।’ आफू धनी छु भनेर दिएको होइन । धनभन्दा पनि ठुलो मन भएकाले यो पटक त्रिभुवन माविका अति विपन्न वर्गका अभिभावकलाई खाद्यान्न र विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएको उनले बताइन् ।

तुलसादेवीले विपन्न अभिभावकलाई एक बोरा चामल, एक किलो नुन, १ लिटर तेल, आधा किलो सोयाविन र १ किलो च्युराका दरले प्रदान गरेकी छन् । यस्तै तिनका छोराछोरीलाई कापी, रङ पेन्सिल, बलपेन, भलिवल र फुटवल प्रदान गरेकी छन् । फुटवल र भलिवलसहित नेपालको राष्ट्रिय झन्डा विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चापागाँईलाई प्रदान गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

कार्यक्रममा सहभागी शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, वडा नम्बर ४ का अध्यक्ष विष्णु प्रसाईँ, ४ नम्बर वडाका सदस्य देवी तिवारी, शिवसताक्षी नगरका शिक्षा अधिकारी छवि ढकाल, कांग्रेस नेता भक्तिप्रसाद सिटौला, पर्शुराम ढुंगाना, एमालेका नेता कोपिला चौलागाईँ, जितेन्द्र शाह, छिमेकी सहकारीका अध्यक्ष मोहन मैनाली, उपाध्यक्ष उदयप्रकाश राई, तुलसाका श्रीमान् यज्ञराज ओली, छिमेकी सहकारीका कार्यकारी प्रमुख नरप्रसाद ओलीलगायतले अभिभावक र विद्यार्थीलाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरेका थिए ।

तुलसाले जन्मोत्सवमा विद्यार्थीलाई पोशाक, विपन्नलाई खाद्यान्न, मठमन्दिरलाई आर्थिक सहयोग, बन्दीलाई पुस्तक प्रदान गर्ने गरेकी छन् । ६९ औ जन्मोत्सव समाजमा दुःख पीडा र आर्थिक अभावमा झेलिएका परिवारसंग मनाइएको उनले बताइन् । समाजमा कसैले समस्या झेल्न नपरोस् भन्दै एकले अर्कोलाई सहयोग गर्नुपर्ने मान्यताअनुसार सद्भाव बाँडन खाद्यान्न र शैक्षिक सामग्री सहयोग गरेको उनले बताएकी छन् ।

जन्मोत्सवमा गरिने फजुल खर्च कटौती गरि विपन्न परिवारलाई गरिने यस्ता सहयोग सबैका लागि अनुकरणीय हुने शिवसताक्षी नगरका उपप्रमुख नरमाया कार्कीले बताइन् । उनले यस किसिमको सहयोगले समाजमा विभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न नागरिकलाई सहयोग गर्नु परोपकारी काम हुने उल्लेख गरिन् ।

त्रिभुवन माध्यमिक विद्यालयमा झापाका तीन वटा स्थानीय तहका विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा शिवसताक्षी नगरपालिका, कमल गाउँपालिका र गौरीगञ्ज गाउँपालिकाका विद्यार्थी अध्ययनका लागि आउने गर्छन् । यो विद्यालयमा अध्ययन गर्ने अधिकांश विद्यार्थी विपन्न वर्गका भएको प्रधानाध्यापक नारायणप्रसाद चापागाँईले बताए । उनका अनुसार शैक्षिक सामग्री किन्नका लागि उनीहरूका अभिभावकसँग आर्थिक जोहो कहिलै हुँदैन । यो विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका अभिभावक छोराछोरीको खानपानका लागि दैनिक ज्याला मजदुरी गर्नुपर्छ । आदिवासी, दलित, सन्थाल समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालय शिवसताक्षी नगरका अन्य विद्यालयभन्दा पूर्वाधारका हिसाबले निकै कमजोर हो ।

यो विद्यालयको पूर्वाधार सुधारका लागि सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई तले चार कोठाको भवन निर्माण बाहेक माख्खो नमारेको नेपाली कांग्रेसका नेता भक्ति सिटौलाले बताए । यो कार्यक्रमबाहेक सरकारका तीन तहकै आँखा यो विद्यालयमा नपरेको उनको आरोप छ । ‘विद्यालयको कक्षा कोठाको जस्तापाता प्वाल परेका छन् । पानी परेका बेला कक्षा कोठामा छाता ओढेर अध्ययन अध्यापन गर्नुपर्ने अवस्था छ । समाजको हित चिताउने व्यक्ति वा समूहले एकाध कार्यक्रमहरू लिएर आउने गर्नुभएको छ,’ सिटौलाले भने , ‘यस्ता कार्यक्रमबाहेक अरु कुनै कार्यक्रम पनि विद्यालयमा छैनन् ।’

अभिभावकले खाद्यान्न र विद्यार्थीले शैक्षिक सामग्री पाउँदा उनीहरुको अनुहारमा बेग्लै किसिमको चमक देखिन्थ्यो । चाडपर्वका बेला पाएको खाद्यान्नले आफूहरूलाई राहत मिलेको लाभग्राहीले बताएका छन् । ‘तीजको मुख छ । घरमा खाने अन्न केही थिएन’ एक स्थानीय अभिभावकले भनिन् ,‘दर खुवाउन छोरीलाई बोलाएकी थिएँ । के खुवाउने भनेर ठुलो चिन्ता थियो । तुलसादेवीको जन्मोत्सवले यो पटकको तिज टर्ने भयो ।’

कार्यक्रम विद्यालय व्यस्थापन समितिका अध्यक्ष महेश्वर दुलालको अध्यक्षता र उपप्रमुख नरमाया कार्कीको प्रमुख आतिथ्यमा भएको थियो । विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद चौलागाँईले स्वागत गरेको कार्यक्रममा यज्ञराज ओलीले औचित्यमाथि प्रकाश पारेका थिए भने पत्रकार विनोद सापकोटाले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्