कुमरखोद , भदौ १६ । झापा गाउँपालिका उद्योग वाणिज्य संघले आयोजना गरेको एक दिवसीय करदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

उद्योग वाणिज्य संघले आन्तरिक राजस्व कार्यालय भद्रपुरको प्राविधिक सहयोगमा एक दिवसीय कार्यक्रम सम्पन्न गरेको हो । वर्तमान कर व्यवस्था तथा आर्थिक विधेयक २०८१ ले गरेका केही विशेष छुट सुविधाका वारेमा जानकारी दिन करदाता शिक्षा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले राष्ट्रको विकासमा करको योगदान रहेकोले साना–ठूला सबै व्यवसायीले कर तिर्नुपर्ने बताए । उनले नागरिकको दायित्वअन्तर्गत कर तिर्ने कार्य समेत परेकोले व्यवसायीहरुले समयमा नै कर तिर्नुपर्ने र करको नियमको पालना गर्नुपर्ने बताए । आन्तरिक राजश्व कार्यालय भद्रपुरबाट ४७ हजारभन्दा वढी व्यवसायीले पान नं. लिएको उनले जानकारी दिए । साविक मेची अंचलभरिका जिल्लाहरु कार्यक्षेत्र भएकोले जनशक्ति अभावका कारण अनुगमन गर्न नसकिएको उनले बताए । सवै करदातालाई करको दायरामा आएर राज्यलाई समृद्धिको बाटोमा लैजान उनको अनुरोध थियो ।

त्यसैगरी कर अधिकृत युनिस चापागाईले कारोवारको लेखा कसरी राख्ने ,विल विजक कसरी जारी गर्ने , कति कारोवार हुनेले कस्तो विवरण पेश गर्ने, विवरण तथा कर दाखिला कहिले गर्नेलगायतका विषयमा प्रस्तुतीकरण दिएका थिए । उनले स्थायी लेखा नम्वर लिई आय विवरण वुझाउन बाँकी रहेका करदातालाई जति वर्षको कर तिर्न बाँकी भएता पनि आय विवरण अनुसारको आयकर र सोमा लाग्ने व्याजको पच्चीस प्रतिशतले हुने रकम २०८१ सालको फागुन मसान्तसम्म वुझाएमा शुल्क र व्याज मिनाहा हुने बताए । उनले व्यवसायीले उठाएका जिज्ञासाको उत्तर दिएका थिए ।

कार्यक्रममा विशेष अतिथि रहेका वडा ७ का वडाध्यक्ष सखिचन्द्र ठाकुरले झोले व्यापारीको विषयमा कार्यपालिकाको बैठकमा जोडदारका साथ कुरा उठाउने बताए ।

झापा गाउँपालिका उद्योग वाणिज्य संघका अध्यक्ष ठोमनाथ नेपालको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं १ वडाध्यक्ष राजकुमार यादव , वडा नं २ का हिमालकुमार चम्लागाँई , वडा नं ३ का सुभाषलाल गणेश , वडा नं ४ का महमद ताहिर मुल्वी , न्यायिक समिति सदस्य राजकुमार कोच , टाँघनडुब्बा विओपी प्रमुख श्यामकुमार थापालगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको संचालन उद्योग वाणिज्य संघका महासचिव भविन्द्र भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य उद्योग वाणिज्य संघका उपाध्यक्ष वसुन्धरा थपलियाले गरेकी थिइन् । डिल्लीराज माविको सभाहलमा भएको करदाता शिक्षा कार्यक्रममा सयभन्दा वढी व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्