झापा, भदौ १६ । झापाको बिर्तामोड– ८ गरामनीमा रहेको साझा संस्थाको सम्पत्ति अपचलन भएको भन्दै त्यसको खोजी शुरु भएको छ ।

साझा संस्थाको नाममा रहेको जग्गा , त्यसको भवन र गोदाम घरको बारेमा जनप्रतिनिधिसहित पार्टी प्रतिनिधि र स्थानीयले चासो राखेर खोज्न थालेका हुन् । साझा संस्थाको भवनमा रहेको अस्थायी प्रहरी चौकीलाई अन्यत्र सार्ने चर्चासंगै साझा संस्थाको सम्पत्तिको खोजविन शुरु भएको हो । त्यस विषयमा छलफल गर्न आज बिर्तामोड ८ नं वडा कार्यालयमा वडा नं ७ , ८ र ९ नं वडाको सर्वदलीय र सर्वपक्षीय बैठक बसेको थियो । बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको संयोजकत्वमा भएको भेलाले अस्थायी प्रहरी चौकी र साझा संस्थाको बारेमा विभिन्न निर्णय गरेको छ । गरामनी बजारमा रहेको प्रहरी चौकीलाई साविक ठाउँमा व्यवस्थित गर्ने र साझा संस्थाको घरजग्गा बेवारिसे भएकाले आवश्यक पहल गरी सो घरजग्गा प्रहरी चौकीको नाममा ल्याउने निर्णय भएको वडाध्यक्ष कार्कीले बताए । उनले साझा संस्थाको घरजग्गा केही व्यक्तिले एकलौटी र मनोमानी ढंगले अपचलन गरिरहेकाले त्यसका विरुद्ध भोलि नगरपालिकालाई ज्ञापनपत्र बुझाउने जानकारी दिए ।

साझा संस्थाको सम्पत्तिका बारेमा कसैलाई जानकारी छैन । संस्था अस्तित्वमा नरहेपछि त्यसको सम्पत्तिमाथि मनोमानी हुँदै आएको छ । संस्थाको पाँचवटा कोठा प्रहरी चौकीले उपयोग गरिरहेको छ । त्यस्तै गोदाम घर व्यवसायी विष्णु चुडालले वर्षौदेखि प्रयोग गरिरहेका छन् । उनलाई कसले र कसरी भाडामा दिए भन्ने खुलेको छैन । चुडाललाई वडा कार्यालयमा बोलाएर सोध्दा उनले साझा संस्थाको संचालक समिति थाहा नभएको , कृष्ण विष्टले भाडा उठाएको बताएको वडाध्यक्ष कार्कीले जानकारी दिए । संसथाको नाममा साढे ४ कठ्ठा जग्गा रहेको थियो । त्यसमध्ये एक कठ्ठा जग्गा बिक्री गरिएको छ । संस्थाको जग्गा के कसरी र कसले बिक्री गर्यो भनेर त्यस विषयमा पनि खोजी गरिने वडाध्यक्ष कार्कीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्