रमेश नेपाल,
बुवा सबैका आदर्शका पात्र । तिनै आदर्श पुरुष बुबाको मुख हेर्ने दिन आफ्ना जन्म, कर्म दिने पितालाई सम्मान अर्पण गरिन्छ ।


नेपालमा कुशे औंसी सनातन हिन्दू परम्परामा अनुसार भाद्र महिनाको अमावस्या अर्थात औंसी तिथिका दिन बुवाको मुख हेर्ने दिन मनाइन्छ ।कुशे औंसी अर्थात् आज बुबाको मुख हेर्ने दिन । आजको दिन आफ्ना बुबालाई मिठो खाना र राम्रा कपडा दिएर सम्मान गर्ने गर्छन् ।

यस दिन बुवाको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ ।

पितृदिवस भाद्रकृष्ण अमावस्याको दिन हो । अमावस्याको रातका अधिपति पितृ हुन् । मानिसहरूले आफ्ना आमा बाबुहरूको सम्झना खासगरी जीवनको अन्धकारमय रातमैं गर्ने हुँदा अमावस्याका दिनमै ती दुबै दिवसहरू मान्ने गरिआएको हो ।

संस्कृतिविद् हरिराम जोशीका अनुसार छोराछोरी आमा बाबुकै प्रतिरूप हुन् । त्यसैले माता पिताको आदर सत्कार गर्नु छोरा छोरीले स्वयम् आफूले आफैँलाई चिन्नु हो, विगतलाई नियाल्दै प्रगतिपथमा लम्कनु हो ।
आज भाद्र कुशे औंसी, पुजनीय बुवालाई सम्मान प्रकट गर्दै मनाइँदै छ । आजको दिनलाई बुवाको मुख हेर्ने दिन पनि भनिन्छ ।

यस दिन आफ्नो बुवालाई भेटेर मिठा परिकार खान दिने, उपहार दिने र आशिर्वाद लिने चलन छ । बुवालाई भेट्न नसक्नेहरुले भने टेलिफोन वा भिडियो कल गरेर सम्झिने गर्दछन् ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने विश्वास छ ।

बुवा नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । यस अवसरमा काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्ने गरेको छ । भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउने पनि गर्दछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पुर्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पिपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्