झापा,भदौ १७ । झापा हल्दीवारीका विद्यालयहरुमा प्रहरीको पुस्तक अनिवार्य रुपमा पठनपाठन गराइने भएको छ ।

समुदाय–प्रहरी साझेदारीअन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल काठमाडौले तयार पारेको “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम” पुस्तकलाई विद्यालयको पाठ्यपुस्तकमा समावेश गरी अनिवार्य पठनपाठन गराइने भएको हो । जसका लागि आज त्रि–पक्षीय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल प्रहरीको तर्फबाट जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक मिलन के.सी., हल्दीवारी गाउँपालिकाको तर्फबाट शिक्षा शाखा प्रमुख जनककुमारी राई र हल्दीवारी गाउँपालिकाको सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुका तर्फबाट जनजागृति माध्यमिक विद्यालय हल्दीबारी–१ की प्रधानाध्यापक इन्दिरादेवी कँडेल (चुडाल) ले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । उक्त समझदारीपत्रको रोहवरमा हल्दीवारी गाउँपालिकाका अध्यक्ष रबिन्द्रप्रसाद लिङ्देन, प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला र पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले हस्ताक्षर गरेका छन्।

गाउँपालिकाका अध्यक्ष लिङ्देनको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बास्तोलाको प्रमुख आतिथ्य रहेको थियो। प्रहरी उपरीक्षक के.सी., सशस्त्र प्रहरी उपरीक्षक कबिन्द्र राई, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय झापाका उप–अनुसन्धान निर्देशक कुलचन्द्र नेपाल, पालिकाका ५ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा–सदस्य, विद्यालयका प्रधानाध्यापकहरु, गाउँपालिकाको विभिन्न शाखाका कर्मचारीहरुको उपस्थिति रहेको थियो।

प्रमुख प्रशासकीय अधिकृत वनले स्वागत गरेको कार्यक्रममा प्रहरी चौकी जलथल झापाका प्रमुख प्रहरी सहायक निरीक्षक ओमराज पौडेलले “स्थानीय तह–प्रहरी–विद्यालय सम्पर्क कार्यक्रम पुस्तक–२०८०” को आवश्यकता, औचित्य र विषयवस्तुमाथि आफ्नो प्रस्तुतीकरणमार्फत जानकारी गराएका थिए।
प्रहरी उपरीक्षक के.सी. र प्रमुख जिल्ला अधिकारी बास्तोलाले शुभकामना मन्तव्य राखेको कार्यक्रमको संचालन योजना शाखा प्रमुख राजन न्यौपानेले गरेका थिए।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्