झापा, भदौ १८ । बिर्तामोडका तीनवटा वडाका बासिन्दाहरुले गरामनीको अस्थायी प्रहरी चौकीलाई साविक स्थानमै व्यवस्थापन गरी दुरुपयोग भइरहेको साझा सहकारी संस्थाको सम्पत्ति संरक्षण गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका छन् ।

बिर्तामोड ७ , ८ र ९ नं वडाका बासिन्दाहरुले विगत २५ वर्षदेखि बेवारिसे अवस्थामा रहेको साझा सहकारी संस्थाको भवनबाट संचालन भइरहेको अस्थायी प्रहरी चौकी अन्यत्र स्थानान्तरणका लागि जग्गा समेत उपलब्ध गराउने भएको निर्णयप्रति आपत्ति जनाएका छन् । गरामनी बजारक्षेत्र बिर्तामोड वडा नं.७, ८ र ९ को केन्द्रमा पर्ने भएकाले प्रहरी चौकी यथास्थानमै राखिनुपर्नेमा उनीहरुको जोड छ ।

बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको अगुवाईमा बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाई र प्रमुख प्रशासकीय अधिकृत राधाकृष्ण खतिवडालाई सामूहिक रुपमा ज्ञापनपत्र बुझाउँदै उनीहरुले साझा सहकारी संस्थाको नाममा रहेको करिब ३ कठ्ठा १० धुर जग्गामध्येबाट प्रहरी चौकीलाई आवश्यक पर्ने जग्गा नियमानुसार हस्तान्तरण गर्नका लागि आवश्यक प्रक्रिया अगाडी बढाइदिन र साझा सहकारी संस्थाको वर्षौदेखि दुरुपयोग भइरहेको सम्पत्ति खोजी गरिदिन ध्यानाकर्षण गराएका छन् । साझा सहकारी संस्थाको नाममा रहेको जग्गा , त्यसको भवन र गोदाम घरको बारेमा जनप्रतिनिधिसहित पार्टी प्रतिनिधि र स्थानीयले चासो राखेका हुन् ।

साझा सहकारीको सम्पत्तिका बारेमा कसैलाई जानकारी छैन । संस्था अस्तित्वमा नरहेपछि त्यसको सम्पत्तिमाथि मनोमानी हुँदै आएको बताइन्छ । संस्थाको पाँचवटा कोठा प्रहरी चौकीले उपयोग गरिरहेको छ । त्यस्तै गोदाम घर व्यवसायी विष्णु चुडालले वर्षौदेखि प्रयोग गरिरहेका छन् । उनलाई कसले र कसरी भाडामा दिए भन्ने खुलेको छैन । संस्थाको जग्गा साढे चार कठ्ठा रहेकोमा एक कठ्ठा बिक्री गरिएको छ । ज्ञापनपत्र बुझ्दै नगर प्रमुख प्रसाईले दुरुपयोग भइरहेको साझा सहकारी संस्थाको गोदाम घर र अहिलेसम्मको भाडाका विषयमा खोजी गर्ने आश्वासन दिएको वडाध्यक्ष कार्कीले जानकारी दिए । त्यस्तै प्रमुख प्रशासकीय अधिकृत खतिवडाले साझा सहकारी संस्थाको सम्पत्ति सँधैभरि बेवारिसे छोड्न नमिल्ने भन्दै सहकारी संस्था संघीय सरकारअन्तर्गत पर्ने भएकाले समस्या समाधानका लागि सहकारी रजिष्ट्रार कार्यालयसंग पहल गर्न सुझाव दिए । उनले देशैभरि साझा सहकारी संस्थाहरुको समस्या रहेको बताउँदै त्यसबारे भूमिसुधार मन्त्रालयले कार्यविधि बनाउन लागेको जानकारी दिए ।

भदौ १५ गते बसेको स्थानीयवासी,व्यापारी, व्यवसायी, नागरिक समाज तथा यहाँका सर्वदलीय, सर्वपक्षीय आम भेलाले प्रहरी चौकी स्थानान्तरण हुने भनिएको स्थान अनुपयुक्त रहेको ठहर गर्दै हाल रहेको स्थान नै नागरिक तथा बजारको सुरक्षाका हिसावले उपयुक्त रहेको ठहर गरेको थियो ।

हालका कोशी प्रदेश सरकारका खानेपानी , सिंचाई तथा ऊर्जामन्त्री एकराज कार्की साझा सहकारी संस्थासंग प्रत्यक्ष जोडिएका छन् । उनी २०७० सालतिर त्यसको संचालक समिति अध्यक्ष रहेका थिए । साझा संस्थाको घर र गोदाम बनाउँदा कृषि विकास बैंकसंग ऋण लिएको र सो ऋण तिर्न नसक्दा सहकारीको १४ धुर जग्गा बिक्री गर्नुपरेको उनले बताए । आफ्नो कार्यकाल सकिएपछि सहकारी पनि निश्क्रिय भएको बताउँदै टेन्डर खोलेरै गोदाम घर भाडामा लगाएको जानकारी दिए । तोकिएको दररेट अनुसार कसैले टेन्डर नहालेपछि व्यवसायी विष्णु चुडाललाई भाडामा दिएको बताउँदै उनले साझा सहकारीको व्यवस्थापक रहेका कृष्ण विष्टले भाडा उठाउने गरेको र तिनै भाडाबाट तलब खाने गरेको विगतको कुरा सुनाए । केही वर्षदेखि गोदाम घरको भाडा नउठाइएको बताउँदै उनले मासिने डरले व्यवसायी चुडालसंगै रहन दिएको दावी गरे । सईको कमाण्डमा १५ जनाको दरवन्दी रहनेगरी स्थायी प्रहरी चौकीको लागि जग्गा व्यवस्थापन गर्न लागिएको भन्दै उनले नमूना प्रहरी कार्यालय बनाउने उद्धेश्य रहेको स्पष्ट पारे ।

भदौ १२ गते मन्त्री कार्कीको उपस्थितिमा बिर्तामोड ७ का वडाध्यक्ष अविरल कृष्ण खरेल , इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक दुर्गा भट्टराई , कार्यपालिका सदस्य लक्ष्मी खतिवडा , स्थानीय हरि पाण्डे , कृष्ण पाण्डे , नारायणसिंह राजवंशी , विष्णुप्रसाद राजवंशी , रणबहादुर मगर , शुक्रसिंह राजवंशी , कुलेश महतो , प्रहरी सहायक निरीक्षक चन्द्रकान्त राय ,नविन शिवाकोटी , प्रमिला राजवंशी , र लालमणि राजवंशीको उपस्थितिमा गरामनी अस्थायी प्रहरी चौकीका लागि जग्गा दान दिने , जग्गा पास गर्ने सम्बन्धमा निर्णय गरिएको थियो । प्रहरी चौकीको लागि हरि पाण्डेले ३० धुर , विष्णुप्रसाद राजवंशीले १५ धुर र नारायणसिंह राजवंशीले १५ धुर जग्गा दिने र सो जग्गा १० दिनभित्र पास गरिदिने निर्णय भएको थियो । यदि आकस्मिक कारणले प्रहरी चौकी निर्माण हुन नसकेमा सो जग्गा सम्बन्धित जग्गाधनीहरुलाई नै फिर्ता गरिदिने निर्णयसमेत भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्