झापा, भदौ १९ । बिर्तामोड नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला र बीएण्डसी हस्पिटलका संचालक दुर्गा प्रसाईबीचको टकराव बढ्दै गएको छ ।
सामाजिक संजालमा गरेको टिप्पणीलाई लिएर उत्पन्न विवाद बढ्दै गई सडकसम्म पुगेको हो । प्रसाईका समर्थकहरुले आज बिर्तामोड नगरपालिका घेराउ गर्दै नारा जुलुस गरेका छन् । नगरपालिकाको कार्यालय अगाडी राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक रामचन्द्र मैनालीको नेतृत्वमा करिव ३०÷४० जनाले उपप्रमुख संग्रौलाविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरुले ‘फेसबुके धम्की बन्द गर ,शवबाहन दुरुपयोग बन्द गर ,बिर्तामोडका उपमेयर राजीनामा दे ,गणतन्त्र धोका भो ,नागरिक बचाउ महाअभियान जिन्दावाद’ जस्ता नारा लगाएका छन् ।
फेसबुकमा लेखेकै विषयमा हिजो बिहान दुवैबीच फोनमा चर्काचर्की परेको थियो । त्यसपछि पनि उपप्रमुख संग्रौलाले प्रसाईविरुद्ध फेरि खरो स्टाटस लेखेका थिए । उनले प्रसाईलाई चेतावनी भन्दै ‘बिर्तामोड नगरपालिकामा म वार्ड अध्यक्ष र अहिले उपप्रमुख हुँदा गरेको भ्रष्टाचार प्रमाणसहित लिएर आईज ,बिर्ताबजारको कृषि ब्यबसायिक भवनमा भ्रष्टाचार गरेर कति खाईस् भनेर बोलेको छस् ।त्यसको पनि प्रमाण लिएर आइज ,म नगरपालिकामा आज अहिले जाँदैछु ।तेरो गणतन्त्र फाल्ने अनुहार देखाएर उपस्थित हुनु ,यदि प्रमाण पुर्याएर उपस्थित भइनस् भने ठिक हुने छैन,आफू बसेको वार्डको एउटा टोल सदस्य जित्न नसक्नेले देशैभरि देशका नेतालाई गालीगलौज गरेर हिड्न सुहाउँदैन ।नेतृत्वलाई गाली गरेजस्तो तल हुँदैन’ भनेर आफ्नो पदीय जिम्मेवारीको पनि ख्याल नगरी गाली गरेका थिए ।
त्यसअघि संग्रौलाले लेखेको विषयमा प्रसाईसंग हिजो विहानै फोनमा चर्काचर्की परेको थियो । प्रसाईले आफ्नो बारेमा फेसबुकमा किन लेखेको भनेर फोन गरी संग्रौलासंग सोधेका थिए । फोनमा प्रसाईले आफूलाई ‘ तँ भ्रष्टाचारी , साला डाका ,नगरपालिका आउन मन छ कि छैन ?’ भनेर धम्की दिएको उपप्रमुख संग्रौलाले बताए ।प्रसाईले अरु पनि तथानाम गाली गर्दै धम्की दिएको संग्रौलाको भनाई छ ।
यस विषयमा बुझ्दा बीएण्डसीका संचालक प्रसाईले फेसबुकमा ‘ दुर्गे भनेर किन लेखेको दुर्गा प्रसाई भनेर लेख्दा के हुन्थ्यो’ भनेर संझाउन खोज्दा संग्रौला आफैले मुख छाडेको प्रतिक्रिया दिए । ‘ चिनी खाने , जाँड खाने ‘..’ आदि भनेर मुख छाडेपछि आफूले पनि जवाफ फर्काएको उनको दावी छ । बीएण्डसी हस्पिटलका संचालक प्रसाईले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान संचालन गर्दै आएका छन् । त्यसका बारेमा उपप्रमुख संग्रौलाले नकारात्मक टिप्पणी गरेको बताइएको छ ।