झापा,भदौ २० । इटहरी उपमहानगरपालिकाले चार थान विद्युतीय बस खरिद गरेकालगायत विभिन्न प्रकरणमा आर्थिक घोटाला र नीतिगत भ्रष्टाचार भएको आरोप लागेको छ । उपमहानगरपालिकाले छ करोड ३६ लाख ८६ हजार ८०० रुपियाँमा केही साताअघि चार वटा विद्युतीय बस खरिद गर्दा आर्थिक घोटाला भएको भन्दै त्यसको सूक्ष्म अनुसन्धान र छानबिनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायसमक्ष माग गरिएको छ ।

विभिन्न राजनीतिक दलका नेता र सामाजिक पक्षले मात्र होइन, उपमहानगरपालिकाभित्रकै जनप्रतिनिधिलेसमेत बस खरिद प्रकरणमा छानबिन गर्न माग गरेका हुन् । नगर बस सञ्चालन गर्ने उद्देश्यले खरिद गरिएका विद्युतीय बस खरिद प्रव्रिmयामा आर्थिक घोटाला र नीतिगत भ्रष्टाचार भएको भन्दै प्रतिनिधि सभा र कोशी प्रदेश सभामासमेत आवाज उठेको छ । प्रतिनिधि सभाका सदस्य अशोक चौधरी र कोशी प्रदेश सभा सदस्य मीना श्रेष्ठले सम्बन्धित सदनमा आवाज उठाएर सूक्ष्म छानबिन, अनुसन्धान र कारबाहीका लागि माग गरेका छन् ।

तर इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले भने नगर बस खरिद प्रकरणमा कुनै अनियमितता नभएको दाबी गर्दै आर्थिक घोटाला र अनियमितता प्रमाणित गर्न चुनौती दिएका छन् ।

उपमहानगरपालिकाले २५ सिट क्षमताको चार विद्युतीय बस खरिद गर्न भ्याटबाहेक छ करोड आठ लाख ८४ हजार ९५५ रुपियाँको टेन्डर आह्वान गरेको थियो । टेन्डरमा तोकिएको मूल्य अनुसार एउटा बसको मूल्य एक करोड ५२ लाख २१ हजार २३८ रुपियाँ पर्न आउँछ । अटोमोबाइल व्यवसायमा यसअघि कुनै कारोबार नगरेको नेसनल फायर सेफ नामको कम्पनीमार्फत भ्याटसहित चार वटा विद्युतीय बस छ करोड ३६ लाख ८६ हजार ८०० रुपियाँमा खरिद गरेको छ । २५ सिट क्षमताका एउटै बसको खरिद मूल्य एक करोड ५९ लाख २१ हजार ७०० रुपियाँ परेको उपमहानगरपालिकाले जनाएको छ ।

यसअघि अटोमोबाइल व्यवसायको टेन्डर कारोबारमा कहीँकतै सहभागिता जनाएको नदेखिएको नेसनल फायर सेफ नामको कम्पनीमार्फत स्पेसिफिकेसन बनाउँदादेखि नै इटहरी उपमहानगरपालिकाका प्रमुख पौडेलको ‘सेटिङ’ रहेको प्रतिनिधि सभा सदस्य अशोक चौधरी र प्रदेश सभा सदस्य मीना श्रेष्ठको दाबी छ । उनीहरूले इटहरीमा गरिएको बस खरिदलगायत अन्य विभिन्न प्रकरणमा अनियमितता र नीतिगत भ्रष्टाचार भएको भन्दै सम्बन्धित सदनमार्फत आफूहरूले छानबिन र कारबाहीका लागि माग गरेको बताए ।

नेसनल फायर सेफमार्फत ती विद्युतीय बस खरिद गरिए पनि ती बस चीनबाट भित्र्याउन आधिकारिक आपूर्तिकर्ता भने स्पार्क अटोमोटिभ्स प्रालि रहेको भन्सारमा पेस गरेको प्रज्ञापनपत्रमा उल्लेख रहेको प्रतिनिधि सभा सदस्य चौधरीको भनाइ छ । यसरी स्पार्क अटोमोटिभ्सले बसको टेन्डरमा सहभागी नभएर तेस्रो कम्पनीका रूपमा नेसनल फायर सेफलाई खडा गरी नगरप्रमुख पौडेल र विद्युतीय बस आपूर्तिकर्ताबिच प्रारम्भदेखि नै सेटिङ र मिलेमतो भएको दाबी प्रतिनिधि सभा सदस्य चौधरीका भनाइ छ ।

प्रदेश सभा सदस्य मीना श्रेष्ठका अनुसार चिनियाँ कम्पनीबाट नेपालमा बस आपूर्ति गर्ने स्पार्क अटोमोटिभ्सले २५ सिट क्षमताका ती विद्युतीय बस ल्याउँदा भन्सार जाँजपासअघिको मूल्य प्रतिबस पाँच लाख ५० हजार ३८० चिनियाँ युआन अर्थात् एक करोड एक लाख ८२ हजार ३० रुपियाँमा खरिद गरेको देखिएको छ । झोङटोङ नामक चिनियाँ कम्पनीले उत्पादन गरेको विद्युतीय बस चीनबाट भित्र्याउँदाको सो मूल्यमा एक प्रतिशत भन्सार, १३ प्रतिशत भ्याट र पाँच प्रतिशत सडक सम्भार दस्तुर मात्र थप लाग्ने व्यवस्था रहेको बताइएको छ ।

तर तिनै विद्युतीय बस इटहरी उपमहानगरपालिकालाई नेसनल फायर सेफ कम्पनीमार्फत बिव्रmी गर्दा प्रतिबस एक करोड ५९ लाख २१ हजार ७०० रुपियाँ परेको छ । यसरी ती विद्युतीय बस आपूर्ति गर्ने एजेन्ट कम्पनीबाट इटहरी उपमहानगरपालिकाले चार वटा विद्युतीय बस खरिद गर्दा त्यहाँ करिब डेढ करोड रुपियाँ आर्थिक घोटाला भएको यहाँका विभिन्न राजनीतिक पक्ष र सामाजिक पक्षले दाबी गरेका छन् ।

इटहरी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहताले बस खरिद गर्नका लागि विसं २०८० कात्तिकमा आह्वान गरेको बोलपत्र नेसनल फायर सेफलाई परेको थियो । सोही अनुसार उक्त कम्पनी र उपमहानगरपालिकाबिच गत फागुन ८ गते सम्झौता भएको आधारमा ती विद्युतीय बस ल्याइएको उपमहानगरपालिकाले जनाएको छ । इटहरीमा नगर बस चलाएर स्थानीय सर्वसाधारणलाई सवारी सुविधा दिने लक्ष्य अनुसार खरिद गरिएको चार थान विद्युतीय बसको मूल्य अचाक्ली महँगो देखिएको इटहरी उपमहानगरपालिकाकी उपप्रमुख सङ्गीताकुमारी चौधरीको पनि भनाइ छ ।

नेकपा (एमाले) इटहरी नगर कमिटीका अध्यक्ष रूपेश बस्नेतले इटहरी उपमहानगरपालिकाले गरेको महँगा विद्युतीय बस ल्याउने काम अत्यन्तै अव्यावहारिक भएको बताए । उनले सम्मानित प्रतिनिधि र प्रदेश सभामासमेत इटहरी उपमहानगरपालिकामा भएको बेथिति र भ्रष्टाचारको विषय उठान भइसकेकाले सरोकारवाला निकायले अविलम्ब छानबिन गर्नुपर्ने बताए ।

इटहरीमा खरिद गरिएको विद्युतीय बसमा जिपिएस, सिसी क्यामरा र एयरकन्डिसनलगायतका सुविधा रहेको छ । सो विद्युतीय नगर बस आगामी असोज १ गतेदेखि सञ्चालन गर्ने तयारी उपमहानगरपालिकाले गरेको छ ।

त्यसै गरी इटहरी उपमहानगरपालिकाले इटहरी अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिद गर्न गत जेठ ७ गते प्रकाशन गरेको बोलपत्रको सूचनामा पनि कुनै एक कम्पनीलाई ठेक्का दिने नियोजित योजना अनुसारको स्पेसिफिकेसन तयार गरी नीतिगत भ्रष्टाचार भएको दाबी गरिएको छ । यस विषयमा पनि नगरप्रमुख पौडेलकै संलग्नता रहेको दाबी गर्दै स्थानीय जनप्रतिनिधिदेखि विभिन्न राजनीतिक र सामाजिक पक्षका साथै प्रदेश र प्रतिनिधि सभाका सांसदसमेतले आवाज उठाएका छन् ।

यसरी विद्युतीय नगर बस खरिदलगायतका विषयमा आर्थिक अनियमितता र घोटाला भएको भन्दै स्थानीयस्तरदेखि विभिन्न सामाजिक सञ्जाल र प्रदेश तथा प्रतिनिधि सभासम्म चर्चा भएको सन्दर्भमा इटहरीका नगरप्रमुख पौडेलले आफूमाथि लागेको आरोप प्रमाणित गर्न चुनौती दिएका छन् । अहिले इटहरीमा बेथिति र भ्रष्टाचारको नाममा उठाइएका विषय आग्रह पूर्वाग्रह ढङ्गबाट आएको भन्दै उनले सामाजिक सञ्जालमार्फत यस विषयमा सम्बन्धित निकायलाइ छानबिन गर्न आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्