झापा , भदौ २१ । बागलुङमा खोलाले बगाउँदा दुई युवाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्।

गएरातिदेखि परेको भीषण वर्षासँगै बागलुङ नगरपालिका–४ कुँडुले हुँदै बग्ने बान्द्रे खोलामा आएको बाढीले मोटरसाइकलसहित तीन युवालाई बगाएको हो।

राति साढे १२ बजे बा.न.पा.–४ कुँडुलेदेखि मालिकातर्फ जाँदै गरेको ध२प ८०१० नम्बरको मोटरसाइकल र घ१प ९९९६ नम्बरको स्कुटरमा सवार बान्द्रे अढाईथर बस्ने २३ वर्षीय अर्जुन सापकोटा र २२ वर्षीय अभिषेक रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका डीएसपी विजय यादवले जानकारी दिए। उनले सोही स्थानका २० वर्षीय कमल सापकोटा बेपत्ता रहेको बताए। सापकोटा र रेग्मीको शव घटनास्थलबाट झण्डै १ सय मिटर तल फेला परेको यादवले जानकारी दिए।

सापकोटाको शव घटनास्थलबाट झण्डै १ सय मिटर र रेग्मीको शव २ सय मिटर तल फेला परेको हो। मृतक दुवैको शव पोष्टमार्टमको लागि धौलागिरी अस्पतालमा लगिएको छ।

बेपत्ता सापकोटाको खोजी कार्यमा प्रहरी निरीक्षक प्रताप पौडेल नेतृत्वको प्रहरी टोली घटनास्थलमा परिचालन भएको थियो। बान्द्रे खोलामा आएको बाढीले मान्छे बगाएको खबर गरेलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। बाढीले बगाएको स्कुटर सडक छेउमा फेला परेको छ भने मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्