झापा , भदौ २१ । भद्रपुर १ रमाइलो टोल डीगाउँका ३६वर्षीय कृष्ण राई रातदिन दियालो सामुदायिक वनमै भेटिन्छन् । घरव्यवहारलाई पर राखेर वनको संरक्षणमै मरिमेट्ने उनको चाहना अनौठो खालको छ ।
सामान्य लुगा र चप्पलमा हातमा खुकुरी भिरेर कृष्ण जहिल्यै वनको हेरचाहमै व्यस्त देखिन्छन् । जवर्जस्त रहरकै कारण उनले आफ्नो एकल प्रयासमा करिव एक हेक्टर जमिनमा रमणीय वन नै निर्माण गर्न सफल भएका छन् । जसको कृष्ण वन भनेर नामकरण गर्ने दियालो सामुदायिक वनले तयारी गरेको छ ।
अरुहरुले हजारौ रकम खर्च गरेर बृक्षरोपण गर्छन् तर, कृष्णले दियालो वनको झाडी सफा गरेर विभिन्न रैथाने जातका बिरुवा उमारेका छन् । करिव २० प्रजातिका रैथाने बिरुवा उनले उमारेर हुर्काएका हुन् । आफूले साल , लटहर , जमुना , काउलो , भ्याक्री , राजब्रिसे , हल्लुडे , खस्रे , टोटोला , खनिउ , कुचलो , डुम्री ,करम , टाटरीलगायतका बिरुवा उमारेको उनले बताए । त्यस्तै उनले सोही वनमा हात्तीमिग्रो ,अशोक , इन्चाक , गोल्डेन , सिरिस , कुसुम , आउटेङ्गा ,वनसुपारी ,चुयल , पिठारी , मलेतो ,सिसौ, वर, पिपलजस्ता बिरुवा लगाएका छन् । त्यति मात्र नभएर एभोकाडो, किम्बु,निबु, ओदाल ,आँप, कटहर दालचिनीजस्ता फलफूल र मसलाका बिरुवा र सयपत्री , बाह्रमासे , सुनाखरीजस्ता विभिन्न फूलका बिरुवाहरु रोपेका छन् ।
विभिन्न प्रकारका रुख , बोटबिरुवा , फलफूलसंगै वनका पशुपालक उपभोक्ताहरुका लागि आबश्यक डाले घाँस पनि बीचबीचमा लगाएका छन् । वनलाई संरक्षण गर्ने दायित्व सबैको भएकाले घाँसको लागि भएपनि वनलाई संरक्षण गर्ने भनेर उपभोक्ताका लागि डाले घाँस लगाइदिएको उनले बताएका छन् ।हावा गोलघरको उत्तरपट्टि कृष्णले लगाएको वन र त्यसको पूर्वपट्टि पोखरीले गर्दा साँच्चै त्यस क्षेत्र आकर्षक देखिएको छ । वन र बगैचाको स्वरुप दिन आफू लागिपरेको कृष्ण बताउँछन् ।‘चोकमा फाल्तु गफ गरेर समय खेर फाल्न म चाहन्न’ उनले भने ,‘जंगललाई नमूना रुप दिने प्रयास गरिरहेको छु ।’ आफूले दिनको अढाई घण्टाको दरले दैनिक खटिरहेको कृष्णले जानकारी दिए ।सो वन निर्माण गर्न विगत ३ महिनादेखि उनले श्रमदान गरिरहेका छन् ।
कृष्णको त्यस उदाहरणीय काममा दियालो वनले सहयोग गरिरहेको छ । ‘वन जोगाउने कृष्णको प्रयास हो ’ दियालो सामुदायिक वनका अध्यक्ष देउकुमार लिम्बूले भने,‘ त्यसमा वनले सहयोग गरिरहेको छ । ’ दिउँसो वनमा काम गर्ने र राति हेरचाह गर्ने कृष्णको बानीप्रति स्थानीय अचम्भित छन् । राति १२ बजे पनि कृष्ण त्यस वनमै भेटिने गरेको स्थानीय पवित्रा तामाङ बताउँछिन् ।
केही महिनाअघि राति जंगली हाती आउँदा कृष्ण त्यही वनमै रहेका थिए । हात्तीले वनमा विनास गरिरहँदा कृष्ण हावाघरमै सुतिरहेका थिए । ‘मसंग ठूलो टर्चलाइट थिएन, त्यही भएर हात्तीले ट्युवेललगायतका सामान भत्कायो’ वनका रक्षक कृष्णले भने ,‘ टर्चलाइट भएको भए म हात्तीलाई धपाउन सक्थे ।’ हात्ती धपाउनका लागि कृष्णलाई दियालो सामुदायिक वनले टर्चलाइट किनिदिएको अध्यक्ष लिम्बूले बताए ।