झापा, भदौ २१ । वर्षौदेखि सम्पत्ति दुरुपयोग भइरहेको बिर्तामोड ८ गरामनीस्थित साझा सहकारी संस्थाको भवन र गोदाम घरको बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले आज अनुगमन गरेकी छन् ।

नगर प्रमुख प्रसाईले सबै राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थितिमा साझा सहकारी संस्था र संस्थाको भवनमा रहेको अस्थायी प्रहरी चौकीको अनुगमन गरेकी हुन् । उनले यसअघि साझा संस्थाको बिक्री गरिसकेको जग्गा पनि कानुनसम्मत बिक्री नभएकाले फिर्ताको पहल गरिने आश्वासन दिएकी छन् ।

तीन दिनअघि मात्र बिर्तामोड ८ का वडाध्यक्ष अजय कार्कीको अगुवाईमा बिर्तामोड ७ , ८ र ९ नं वडाका बासिन्दाहरुले अस्थायी प्रहरी चौकी साविक ठाउँमै व्यवस्थापन गरिनु पर्ने र साझा संस्थाको सम्पत्ति संरक्षण गरिदिन नगरपालिकालाई ध्यानाकर्षण बुझाएका थिए ।

साझा सहकारीको सम्पत्तिका बारेमा कसैलाई जानकारी छैन । संस्था अस्तित्वमा नरहेपछि त्यसको सम्पत्तिमाथि मनोमानी हुँदै आएको बताइन्छ । संस्थाको पाँचवटा कोठा प्रहरी चौकीले उपयोग गरिरहेको छ । त्यस्तै गोदाम घर व्यवसायी विष्णु चुडालले वर्षौदेखि प्रयोग गरिरहेका छन् । उनलाई कसले र कसरी भाडामा दिए भन्ने खुलेको छैन । संस्थाको जग्गा साढे चार कठ्ठा रहेकोमा एक कठ्ठा बिक्री गरिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्