
झापा,भदौ २१ । प्रविधिको विकाससँगै अनलाइनमार्फत किनमेल गर्ने ‘ट्रेन्ड’ विश्वभर बढ्दो छ । अमेजन, अलिबाबा, वालमार्ट, ई–बे, अलि–एक्सप्रेसजस्ता विश्व चर्चित अनलाइन सपिङ साइट विश्व बजारमा प्रख्यात छन् । व्यस्त जीवनशैली, उचित नियमन र बलियो ऐन, कानुनले गर्दा अनलाइन व्यापारले विकसित देशमा साम्राज्य खडा गरिसकेको छ ।
नेपालमा भने भर्खर बामे सर्दैछ । जे होस् पछिल्लो समय घर र कार्यालयमै बसेर आफ्नो रोजाइका जुत्ता, लुगा, विद्युतीय सामग्री, किताब, दैनिक उपभोग्य सामग्रीदेखि खानासम्म ‘अर्डर’ गर्ने चलन बढ्दो छ । खरिदमा सहजता, आफूले खरिद गर्न चाहेको सामानको जानकारी, मूल्य, ब्रान्ड लगायत सुविधाका कारण अहिले अनलाइन सपिङको क्रेज चुलिँदै गएको छ । दराज जस्तो बहुराष्ट्रिय कम्पनीले यसको उपयोगिता र विश्वसनियता बढाउँदै लगेको छ ।
नेपालमा सन् २००० मुन्चा डटकमबाट अनलाइन व्यवसाय सुरु भएको हो । लगत्तै ठमेल डटकमले सेवा सुरु गरेको थियो । तर अहिले दुवैको बजार प्रतिस्पर्धी बजारमा निकै पछि छ । निकै उचाइमा पुगेर पनि पछिल्लो समय सस्तोडिल प्रतिस्पर्धी बजारमा हराइसकेको छ ।
नेपालमा खासगरी दराज डटकमको प्रवेशसँगै अनलाइन किनमेलले गति लिएको हो । दक्षिण एसियाभर फैलिएको, ठुलो लगानी, सबै खालका सामग्री पाइने लगायत कारण दराजले अनलाइन व्यापारलाई नेपालमा ‘ब्राण्डिङ’ गर्न सघायो । यसमा कोरोना महामारी र लडकडाउनको भूमिका पनि उत्तिकै छ । कोरोना महामारीमा ठप्प भएको आवतजावतमा आममानिसले अनलाइन किनमिललाई रोेजे ।
अनलाइन व्यापारको दायरा बढेसँगै यस्तो व्यापार व्यवसायलाई नियमन र अनुगमन गर्न चुनौती पनि थपिएको छ । अनलाइन किनमेलका लागि कानुन नबन्दा यसले अपेक्षाअनुसार फस्टाउन पाएको छैन ।
व्यक्तिगत रूपमा जथाभाबी भइरहेको व्यापारले समग्र अनलाइन व्यापारलाई नै हानि गरिरहेको छ भने आमउपभोक्तालाई अनलाइन व्यवसायप्रति विश्वास जगाउन सकेको छैन । तोकिएभन्दा फरक सामान आए के गर्ने, कहाँ गुनासो वा उजुरी गर्ने, भुक्तानी गरिसकेपछि सामान नआए के गर्ने जस्ता समस्याले धेरै उपभोक्ता अनलाइनको किनमेलमा विश्वस्त बन्न सकेका छैनन् ।
कानुन अभावका कारण जसले पनि फेसबुक, इन्स्टाग्राम टिकटकजस्ता सोसियल साइटमा सामान राखेर बिक्री गर्न थालेका छन् । यसले एकातिर राज्यले लाखौँको राजस्व गुमाइरहेको छ भने उपभोक्ता ठगिने प्रवृत्ति पनि बढ्दो छ । अनलाइनमार्फत सामान अर्डर लिने, अर्डरको पैसा लिने र सामान नपाठउने प्रवृत्ति पनि बढेको छ । अनलाइन व्यापारका नाममा गएको आर्थिक वर्ष २०८०–८१ मा मात्रै करिब १ करोड रुपैयाँ ठगी भएको प्रहरीको तथ्यांक छ । गत आवमा ९७ लाख ६६ हजार रुपैयाँ अनलाइन किनमेलका नाममा ठगी भएको छ ।
यही कारण व्यक्तिगत रूपमा जथाभाबी भइरहेको व्यापारले समग्र अनलाइन व्यापारलाई नै हानि गरिरहेको छ भने आमउपभोक्तालाई अनलाइन व्यवसायप्रति विश्वास जगाउन सकेको छैन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्रालयका प्रवक्ता बाबुराम अधिकारी अनलाइन व्यापरका कारण ठगिएको थुप्रै गुनासो आउने गरेको बताउँछन् । ‘मौजुदा कानुनले अनलाइन व्यापारलाई नियमन गर्न समस्या भएकै हो,’ उनी भन्छन्, ‘संसद्बाट अगाडि बढ्यो भने सरकार, उपभोक्ता, व्यवसायी सबैको हित हुन्थ्यो ।’
सरकारले अनलाइन व्यापारलाई नियमन गर्न चाहिने कानुन निर्माणका लागि संसद्मा विधेयक लगेको छ । राष्ट्रिय सभामा ‘विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० असार १२ गते राष्ट्रिय सभामा दर्ता भएको थियो । केही बैठकम छलफल चले पनि विधेयकले कानुनी रुप लिएको छैन ।