
झापा,भदौ २२ । चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोका किनबेच बढ्न थालेको छ । साताको बिहीबार र शुक्रबार दुई दिन खसी र बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीणक्षेत्रदेखि पहाडी भेगबाट व्यापारीले खसीबोका बिक्रीका लागि धरान ल्याउने गरेका छन् ।
धनकुटाबाट खसीबोका बिक्री गर्न धरान आएका ललित लिम्बूले विगत २५ वर्षदेखि खसीबोका पशुपालन व्यावसाय गर्दै आएका छन् । उनले भने, “धरानको कृषि बजारमा खसीबोका बिक्रीका लागि प्रत्येक हप्ता आउने गरेको छु । बिहीबार २० खसीबोका ल्याएर धरान आएको थिए, अब दुईवटा मात्र बिक्री गर्न बाँकी छन्”, लिम्बूले भने, “खसीबोका रु पाँच हजारदेखि रु २५ हजारसम्ममा बिक्री गरिरहेको छु ।”
लिम्बूले खसीबोका बिक्री गर्न विराटनगर, दुहवी, इनरुवा, इटहरी, तरहरासम्म लैजाने गरेका छन् । “व्यापारको टुङ्गो हुँदैन कहिले घाटा लाग्छ कहिले नाफा हुन्छ, तर यही व्यवसायबाट घरपरिवारका लागि खर्च भने मज्जाले पुग्छ”, उनले भने ।