झापा, भदौ २२ । कक्षा १२ उत्तीर्ण गरेर विदेश जाने लहर चल्दा क्याम्पसहरुले स्नातक पढ्ने विद्यार्थी नपाइरहेका बेला बिर्तामोडमा पव्लिक क्याम्पस खोल्ने होडवाजी नै चल्यो । बिर्तामोडका आठ वटा संस्थागत क्याम्पसहरुमा स्नातक तहको पढाई भइरहँदा व्यवस्थापन विषयकै पठनपाठनका लागि बिर्तामोडमा तीनवटा पव्लिक क्याम्पस खोलिए । अहिले विद्यार्थी नपाएर ती क्याम्पसहरुको बेहाल भएको छ ।
शिक्षाको हवको रुपमा विकसित हुँदै आएको बिर्तामोडमा कन्काई , कोहेड , मनकामना , निदि , कंचनजंघा , प्रोभिडेन्स , गोमेन्द्र र एमिटी गरी आठवटा संस्थागत कलेजले स्नातक पढाइरहेका छन् । त्योसंगै स्नातककै लागि अनारमनी पव्लिक क्याम्पस , गरामनी क्याम्पस र इन्द्रचन्द्र क्याम्पस गरी तीनवटा पव्लिक क्याम्पस खोलिए । २०६४ सालमा अनारमनी क्याम्पस स्थापना भएको हो भने इन्द्रचन्द्र र गरामनी एउटै वर्ष २०७० मा होडवाजी गरी खोलिएका हुन् । ती तीनवटा क्याम्पसमध्ये बिर्तामोड ६ मा रहेको इन्द्रचन्द्र क्याम्पसको अवस्था हाल राम्रै रहेपनि अनारमनी र गरामनीले विद्यार्थी नपाएर समस्या भोग्नु परिरहेको छ । स्नातक र स्नातकोत्तरको पढाई हुने गरेको इन्द्रचन्द्र क्याम्पसमा १४२३ जना विद्यार्थी अध्ययनरत रहेका छन् । जसलाई सन्तोषजनक नै मान्नु पर्छ । बिर्तामोडको अपायक ठाउँमा भएपनि इन्द्रचन्द्र क्याम्पसमा विद्यार्थी संख्या राम्रै रहेको क्याम्पस प्रमुख प्रकाश दाहालले बताए ।
तर, गरामनी क्याम्पसमा १०५ जना मात्र विद्यार्थी छन् । क्याम्पसको भवन निर्माण हुन बाँकी रहेकाले हाल दुर्गा माविको भवनमा क्याम्पसको पठनपाठन हुँदै आएको छ ।दुःखका साथ क्याम्पस संचालन गरिरहेको गरामनी क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद पाठकले बताए । त्यस्तै अनारमनी पव्लिक क्याम्पसमा २२५ जना विद्यार्थी अध्ययनरत छन् । आर्थिक अभाव , भौतिक पूर्वाधारमा कमी , यातायातका साधन नभएको जस्ता समस्या रहेको अनारमनी पव्लिक क्याम्पसका प्रमुख मोहन शिवाकोटीले बताए ।
केही दिनअघि अनारमनी पव्लिक क्याम्पसको १७ औ साधारणसभा तथा चौथो अधिवेशनमा बिर्तामोडमा तीनवटा पव्लिक क्याम्पस खोलिनु आबश्यक नभएको भन्दै उनीहरुलाई मर्ज गरिनु पर्ने धारणा सहभागी वक्ताहरुले राखेका थिए । संस्थागत क्याम्पसभन्दा पव्लिक क्याम्पस खोलिनु राम्रो कुरा भएपनि आबश्यकताभन्दा बढी खोलिएकाले चल्न नसकेको बिर्तामोड नगरपालिकाका शिक्षा शाखाका अधिकृत केशरबहादुर खवासले बताए । उनले सँधैभरि मागेरै चलाउनुभन्दा क्याम्पसहरु आत्मनिर्भर बन्नु पर्ने धारणा राखे । पव्लिक क्याम्पस स्थानीय सरकारको क्षेत्राधिकारभित्र नपर्नेमा बिर्तामोड नगरपालिकाले सहयोग गर्दै आएको छ । स्थानीय तहको क्षेत्राधिकार माध्यमिक तहको शिक्षामा मात्र लगानी गर्ने रहेको छ। त्यहाँ चाहिँ पर्याप्त लगानी हुन नसकेको गुनासो छ । आफ्नो क्षेत्र अधिकारभन्दा बाहिर लगानी गर्र्नु एक प्रकारको भ्रष्टाचार भएको बिर्तामोडका शिक्षक बताउँछन् । ‘नगरपालिकाबाट सहयोग उठाएकै छन् , प्रदेश सरकारबाट सहयोग ल्याएकै छन् अनि विद्यार्थीबाट शुल्क असुलेकै छन्’ एकजना अभिभावकले भने,‘पव्लिक क्याम्पसहरुले लुटको धन्दा चलाएकोजस्तो देखिन्छ ।’ जागिर खुवाउन र राजनीति गर्नका लागि पव्लिक क्याम्पस खोलेको कतिपयको बुझाई पनि छ ।
विधानमा समाजसेवी र बुद्धिजीवीहरु संचालक समितिमा बस्न पाउने उल्लेख भएपनि बिर्तामोडका पव्लिक क्याम्पसको अध्यक्षमा राजनीतिकर्मीहरु नै रहेका छन् । गरामनी क्याम्पसको अध्यक्षमा हालका कोशी प्रदेशका खानेपानी , सिचाई तथा ऊर्जामन्त्री एकराज कार्की छन् । त्यस्तै इन्द्रचन्द्र क्याम्पसको अध्यक्षमा एमाले नेता हरिचरण शिवाकोटी छन् । अनारमनी पव्लिक क्याम्पसको अध्यक्षमा राप्रपा नेता राजकुमार पोखरेल रहेकोमा केही दिनअघि नेतृत्व परिवर्तन भई डा. लक्ष्मीप्रसाद मैनाली अध्यक्ष बनेका छन् ।