झापा , भदौ २२ । दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको भ्रातृ संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) ले बिर्तामोडमा विरोध प्रदर्शन र सभा गरेको छ ।


बिर्तामोड ३, सैनिकमोडस्थित नागरिक प्रतिरक्षा बलको कार्यालय अगाडिबाट र्याली शुरु भएको थियो । सवारीसाधनहरुमा नेपालको झण्डा र पीडीएफ लेखिएको टिसर्ट लगाएर ‘भ्रष्टाचारी सरकार मुर्दावाद, निकम्मा सरकार मुर्दावाद, गिरीबन्धु टी इस्टेटको फाइल खुल्ला गर, बैंक, लघुवित्त, सहकारीपीडितलाई न्याय दे’ जस्ता नाराहरु लगाउँदै मोटरसाइकल र्याली निकालिएको थियो । उक्त मोटरसाइकल र्याली सैनिकमोडबाट बिर्तामोड ५ स्थित सिटीसेन्टर, महानन्द चोक, मुक्तिचोक हुँदै चारपाने पुगेर पुनः सिटीसेन्टरमा फर्किएर साई पार्टी प्यालेसको सभाहलमा कार्यक्रममा परिणत भएको थियो ।

नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भिम तुम्बापोको नेतृत्व तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक प्रसाईंको उपस्थितिमा १५० वटा मोटरसाइकल ,१५वटा अटो, १२ वटा छोटा हात्ती,५–६ वटा साना गाडी गरि करिव ४०० को संख्यामा सहभागी थिए ।जिल्ला संयोजक तुम्बापोको अध्यक्षता तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका केन्द्रीय संयोजक प्रसाईंको प्रमुख आतिथ्यमा भएको कार्यक्रमलाई संबोधन गर्दै प्रसाईले कम्युनिस्टहरुलाई लातको लात हानेर खेद्न पीडीएफको जन्म भएको चेतावनी दिए । उनले कम्युनिस्टहरुको रणभूमिलाई लछार्दै अब राष्ट्र राष्ट्रियताको भूमि झापा बनाइसकेको दावी गरे ।

कार्यक्रममा नागरिक प्रतिरक्षा बलका सदस्यहरुलाई खादा लगाइदिएर सम्मान गरिएको थियो । साथै राष्ट्रिय स्वतन्त्र पार्टीका मोरङका उम्मेदवार विकास उप्रेतीलगायत ४४ जना दुर्गा प्रसाईको अभियानमा प्रवेश गरेको भनी उद्घोष गरिएको थियो । कार्यक्रममा अभियानका सांस्कृतिक बिभाग प्रमुख माधब कल्पित, उच्च स्तरीय कार्यदलका प्रमुख हरि श्रेष्ठ, नागरिक प्रतिरक्षा बलका केन्द्रीय संयोजक मिलन लामा, पूर्वाञ्चल संयोजक उमेश लामालगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्