झापा,भदौ २३। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले झापाका शैक्षिक संस्थाहरुमा खाजाका नाममा प्रयोग हुने जंकफुड प्रयोग गर्न नदिने अभियानलाई अगाडि बढाउँदै लगेको छ ।
दुई साताअघि बिर्तामोडमा घोषणा गरेको विप्लव समूहले त्यसबारे झापा गाउँपालिकाका विद्यालयहरुमा गएर आज अन्तरक्रिया गरेको छ । झापा गाउँपालिका २ स्थित रेडक्रस भवनको सभाहलमा नेकपा (बिप्लव) समूह झापा गाउँ कमिटिको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाभरिका शैक्षिक संस्थाहरुमा जंकफुड प्रतिबन्ध अभियान संचालन गर्ने निर्णय गरेको हो ।
झापा गाउँ कमिटी सेक्रेटरी कुसुम भुजेलको अध्यक्षता तथा झापा जिल्ला सेक्रेटरी संजय राईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा आगामी असोज ४ गते “वर्तमान राष्ट्रिय संकट र निकास” बिषयक अन्तरक्रिया कार्यक्रम गर्ने, डिल्लीराज माविमा भएको भ्रष्टाचार, लघुवित्त, मिटरब्याजीहरुको विरुद्धमा संघर्ष गर्नेलगायतका निर्णयसमेत भएको पार्टीले जनाएको छ । प्रदेश कमिटी सदस्य चमनलाल माझीको समेत उपस्थिति रहेको कार्यक्रम झापा गाउँ कमिटी इन्चार्ज कुमार मैनालीले संचालन गरेका थिए ।