बिर्तामोड,भदौ २५ । आक्रमणमा संलग्नलाई पक्राउ गरी कार्वाही गर्न वाइसीएल नेपालले माग गरेको छ ।
बुद्धशान्तिका वाइसीएल अध्यक्ष पंकज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनामा संलग्न मेचीनगर–१२ घर भएका बालकुमार विष्ट र नविन विष्टलाई पक्राउ गरी कार्बाहीको दायरामा ल्याउन वाइसीएलले माग गरेको हो । मंगलवार बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै वाइसीएलले आक्रमणमा संलग्न बिष्ट दाजुभाइलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
‘हामीले निवेदन दिँदा पनि प्रहरी प्रशासनले पक्राउ गर्न चासो दिएको छैन,’ वाइसीएल नेपाल झापाका अध्यक्ष डेबिट शाही ठकुरीले भने, ’आज दिनभरमा पनि आक्रमणमा संलग्न बिष्ट दाजुभाइलाई पक्राउ गरी कानुनी दायरामा नल्याए भोलि मेची राजमार्ग बन्द गर्छौं र अन्य आन्दोलनको कार्यक्रम अघि सार्छौं ।’
मेची राजमार्ग सडकखण्डअन्तर्गत मेचीनगर–१२ स्थित सहरेडाँगी उत्तर सडकमा हातहतियारसहित विष्टद्वयले शेर्पालाई आक्रमण गरेको वाइसीएल नेपाल झापाले दावी गरेको छ ।
ट्याक्सी चालकले अनियन्त्रित ढंगले सवारी चलाएको र सो सवारी चालकलाई शेर्पाले रोक्न लगाई सम्झाई बुझाई गरेसँगै घटना मिलिसकेको अवस्थामा पूर्वाञ्चल ट्याक्सी व्यवसायी संघका अध्यक्षसमेत रहेका बालकुमार विष्ट र उनका भाइ नबिन विष्टले एक्कासि घरेलु हतियार, बाईकको हेल्मेटले शेर्पालाई अन्धाधुन्ध प्रहार गरी घाइते बनाएको वाइसीएल प्रदेश अध्यक्ष कुमार आचार्यले दावी गरे । शेर्पाको बीएण्डसी अस्पतालमा उपचार भइरहेको उनले बताए ।