झापा, भदौ २५ । झापाको बिर्तामोड–२ भगवान चौकस्थित स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै आफन्तहरु आन्दोलित भएका छन् ।

फाइल फोटो

एनेस्थेसिया सम्बन्धी चिकित्सकबिना नै हेल्परले अप्रेशन गर्दा विरामीको मृत्यु भएको भन्दै आफन्तले आन्दोलन गरेका हुन् । दुर्घटनामा परी घाइते भएका भारतको बिहारस्थित जोगबनी घर भई हाल फिदिम नगरपालिका वडा नं. २ पल्लोटारमा बस्दै आएका ३० वर्षीय मोहमद इर्साद हुसेनको उपचारका क्रममा आज बिहान ७ बजे मृत्यु भएको हो । त्यसपछि आफन्तहरुले अस्पतालमा होहल्ला गरेपछि अस्पताल परिसर तनावग्रस्त बनेको थियो ।

अस्पतालमा तनाव भएपछि प्रहरी पठाएर स्थिति सामान्य बनाएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । उनले अस्पताल पक्षले उपचार खर्च मिनाहालगायत लेनदेनमै विवाद मिलाएको कुरा सुनेको जानकारी दिए । त्यसपछि मृतक परिवारले शव बुझेका थिए । हुसेन पाँचथरको एक ट्रयाक्टर ग्यारेजमा काम गर्दथे ।

पाँचथरको फिदिम नगरपालिका वडा नं. २ लाँलीखर्कस्थित मेची राजमार्गमा ताप्लेजुङबाट झापातर्फ आउँदै गरेको प्र १–०१–००१ ख ४३३४ नम्बरको ट्रक र फिदिमतर्फ जाँँदै गरेको हुसेन चढेको मे ८ प ७९०४ नम्बरको मोटरसाइकल शनिवार दिउँसो १२ बजे एकापसमा ठोक्किएको थियो । तिघ्रामा चोट लागेर हुसेन गंभीर घाइते भएका थिए ।

उनलाई पाँचथर जिल्ला अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि सोही दिन बेलुका स्पाइन एक्स सुपर स्पेसलिटी हस्पिटल एण्ड ट्रमा सेन्टरमा रिफर गरिएको थियो ।
ट्रक चालक पाँचथरको हिलिहाङ गाउँपालिका वडा नं. २ काबेली निवासी ३६ वर्षीय तिलक भण्डारीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्